सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका १२ वटा अस्पतालहरुका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुपनि मनोनयन गरेको छ । शुक्रवार राती सम्पन्न कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
शनिवार विहान पत्रकार सम्मेलन गरी प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बैठले अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु मनोनित गर्नुका साथै अन्य पाँच वटा निर्णयहरु गरिएको जानकारी दिइन् । प्रदेश अस्पताल सुर्खेतको व्यवस्थापन समितिको अध्यक्षमा श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनित गरिएको छ । कँडेल पूर्व मन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलका जेठा दाजु हुन् ।
यस्तै सल्यान अस्पतालमा दामोदर गौतम, मुगु अस्पतालमा पारसमणि मल्ल, डोल्पा अस्पतालमा तेजेन्द्रबहादुर रोकाय, हुम्ला अस्पतालमा छेपाल दोर्जे लामा तामाङ, कालिकोट अस्पतालमा सरोज बोगटी अध्यक्षमा मनोनित भएका छन् । यस्तै दैलेख अस्पतालमा लोमन शर्मा, जाजरकोट अस्पतालमा धर्मशीला बस्नेत, रुकुम अस्पतालमा सुन्दर वली, जुम्ला आयुर्वेद अस्पतालमा मनोज बुढाथोकी मगर, सुर्खेत आयुर्वेद अस्पतालमा ओमबहादुर बोहरा र सुर्खेतको मेहलकुना अस्पतालमा मानबहादुर खत्रीलाई अध्यक्षमा मनोनित गरिएको प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
बैठकले पुस ८ गते कालिकोटको पलाँता गाउँपालिका १ न्यौपानेखाडामा भएको आगलागी र त्यसमा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रदेश सरकारका तर्फबाट प्रति परिवार २० हजार नगद र अन्य राहत सामग्री उपलव्ध गराइएको र सहयोग गर्ने संघीय सरकार, गृह मन्त्रालय, स्थानीय सरकारलगायत सवै क्षेत्रहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रवक्ता केसीले अग्निपीडितहरुको आवास निर्माणका लागि नमूना नक्सा, प्राविधिक सहयोग र प्रति घर बनाउन रु. पाँच लाख प्रदेश सरकारले सहयोग गर्ने निर्णयपनि बैठकले गरेको बताइन् ।
प्रकाशित मिति: १४ पुष २०७५, शनिबार १६:५८