रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको बताएका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा बुुधवार चौरजहारीमा सम्पन्न सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आर्थिक समृद्धि हासिल गर्न हरेक स्थानीयतहले उत्पादनको योजनानिर्माण गर्नुपर्ने बताए ।
हरेक नागरिकले कुनै न कुनै व्यवसायीक उत्पादनको थालनी गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले उत्पादन विना आर्थिक समृद्धि हासिल नहुने बताए । अर्गानिक कृषिजन्य बस्तुको विश्वबजारमा ठुलो माग रहेको बताउदै उनले व्यवसायिक कृषिको विकासले मात्रै मुलुक आर्थिक रुपले आत्मनिर्भर हुनसक्ने बताए ।
‘विकासको दायित्व राज्यको हो, सडक, पुल, सिंचाई, खानेपानीलगायतका भौतिकपुर्वाधारको विकास राज्यले गर्छ ।’ मुख्यमन्त्री शाहीले भने ‘तपाईहरु सवैजना उत्पादनको योजना बनाएर कार्यान्वयनमा लाग्नुहोस ।’ चाउचाउ बोेकाएर ट्रक भित्र्याउने र रित्तै फर्काउने स्थितिले जनताको जिवनमा विपन्नतामात्रै आउने बताउदै मुख्यमन्त्री शाहीले ट्रकका ट्रक स्थानीय उत्पादनले भरेर बजारमा पठाउनुपर्ने बताए ।
उत्पादनका विकास र बजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री शाहीले मागको आधारमा उत्पादनमा लाग्न आग्रह गरे ।
मुख्यमन्त्री शाहीले चौरजहारीले कर्णालीप्रदेशको आर्थिक केन्द्रका रुपमाविकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । कृषितथा जडीवुटीजन्य उद्योगको राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले चौरजहारीलाई औद्योगिक शहरको रुपमा विकास गरिने बताए । सल्लीवजार चौरजहारी सडकको स्तरोन्नति र कालोपत्रेका लागि प्रदेश सरकारले ६ करोड वजेट विनियोजन गरिएको र कार्यप्रगतिको आधारमा बजेट थप गरिने प्रतिवद्धता व्यक्त गरे ।
बुुधवार विहान चौरजहारीको लहरेसिमलमा रहेको लहरेसिमल दुग्ध उत्पादन फर्मको अवलोकन गरेका मुख्यमन्त्री शाहीले चौरजहारी नगरपालिका कृषिउत्पादनका लागि उपयुक्त रहेको बताए ।
भुमीव्यवस्था, कृषितथा सहकारी मन्त्री विमला केसीले चौरजहारी नगरपालिका भित्रका कृषि योग्य जमिनमा सिंचाई प्रवन्ध गर्न आफु लागिपरेको बताइन् । मन्त्री केसीले चौरजहारीको खाद्यान्न उत्पादनले सिंगै कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताउदै व्यवसायिक कृषिको विकासका लागि मन्त्रालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरीन् ।
प्रदेश सभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले आआफनो धारणा राखेका थिए ।
प्रकाशित मिति: ११ पुष २०७५, बुधबार १६:३८