काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४-७५ प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उक्त आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संवैधानिक निकायले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आठ परिच्छेद र २४७ पृष्ठको उक्त प्रतिवेदनमा आयोगको परिचय, सम्पादित कार्यअन्तर्गतका अनुसन्धान तथा अभियोजनको विश्लेषण, भ्रष्टाचार नियन्त्रका लागि चालिएका निरोधात्मक तथा प्रवद्र्धनात्मक उपाय, संस्था सुदृढीकरणका लागि भएका प्रयास, भ्रष्टाचारजन्य कार्यको विश्लेषण, सुझाव, आगामी रणनीतिक कार्यदिशासहित विषयवस्तु समेटिएको उनले जानकारी दिए ।
सो अवसरमा आयुक्तहरू डा. गणेशराज जोशी, राजनारायण पाठक, उषा गुरुङ र सचिव महेश्वर न्यौपानेलगायत उपस्थित थिए ।
प्रकाशित मिति: ९ पुष २०७५, सोमबार १६:१६