सुर्खेत । सुर्खेतमा एउटा सामुदायिक विद्यालयको एउटा कक्षामा भने ४०० विद्यार्थी छन्भन्दा पत्याउनै गाह्रो पर्छ, तर बास्तविकता त्यही हो । वीरेन्द्रनगर १२ स्थित अमरज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा मात्रै ४०० विद्यार्थी छन् ।
विद्यार्थी धेरै भएपछि विद्यालयले ६ वटा सेक्सन बनाएको छ । एउटा सेक्सनमा ६० भन्दा बढी विद्यार्थी राखिएको छ । शिक्षा ऐनमा गुणस्तरीय शिक्षाका लागि एउटा कक्षामा ३० देखि ४५ जना विद्यार्थी राख्नुपर्ने नीति छ । तर त्यो नीति उक्त विद्यार्थीले लागू गर्न सकेको छैन । कक्षा ९ मा मात्र होइन कक्षा ६ देखि कक्षा १२ सम्म कम्तीमा डेढ सय विद्यार्थी छन् । कक्षा ६ र ७ मा तीन-तीन वटा सेक्सन बनाइएकोछभने कक्षा ८ मा पाँच वटा र कक्षा ९ मा ६ वटा र कक्षा १० मा सात वटा सेक्सन बनाएर विद्यार्थीलाई अध्ययन गराइएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यालयमा अहिले कूल विद्यार्थी संख्या दुई हजार ५०० भन्दा बढी छ । मावि तहमा करिव एक हजार ४००, कक्षा ११र १२ मा एक हजार र सिटिईभीटीमा १५० विद्यार्थी छन् । विद्यालयमा कोठा नभएपछि विद्यार्थीहरुको चाप थेग्नै नसकिएको र जसका कारण एउटै कोठामा ६० जनाभन्दा बढी विद्यार्थी राखेर पढाउनुपरेको प्रधानाध्यापक थापाले बताए ।
विद्यालयमा यति धेरै विद्यार्थीको चाप नेपाली र अंग्रेजी माध्यममा पढाउन थालेपछि भएको उनले जनाए । तीन वटा सेक्सन अंग्रेजीमा र बाँकी तीन वटा सेक्सन नेपालीमा पढाइएको छ । दुवै माध्यमबाट पढाउन थालेपछि विद्यार्थीहरुको चाप बढेको उनले बताए ।
विद्यार्थीहरुको चाप धेरै भएपछि चाहेजस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको प्रअ थापा स्वीकार गर्छन् । उनले भने, एकै कक्षामा ४०० विद्यार्थी छन्, कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएला ?नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने, भौतिक संरचनाहरुको उपलव्धता, जनशक्तिहरुको परिपूर्तिजस्ता कारणले विद्यालयमा विद्यार्थीहरुको चाप बढेको उनले बताए ।
प्रकाशित मिति: ८ पुष २०७५, आईतवार १६:४४