सुर्खेत । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षभित्रै कर्णाली प्रदेशका सवै स्थानीय तहम बैंक पुगिसक्ने जनाएको छ । कर्णालीका कूल ७९ वटा स्थानीय तहमध्ये अझैसम्म १७ स्थानीय तहमा बैंकहरु पुग्न नसकेको भन्दै बैंकले चालु आवभित्रै सवै तहमा पुगिसक्ने जनाएको हो ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलवार सुर्खेतमा गरेको कार्यक्रममा विभागका निर्देशक हिमप्रसाद न्यौपानेले संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन सार्वजनिक गर्दै अहिलेसम्म ६२ वटा तहमा बैंक पुगिसकेको र अझैसम्म १७ वटा स्थानीय तहमा बैंक पुग्न नसकेको जानकारी दिए । उनले चालु आर्थिक बर्षको असार मसान्तभित्रै बाँकी रहेका स्थानीय तहमा बैंकहरु पुगिसक्ने दावी गरे ।
कर्णाली प्रदेशमा भौतिक पूर्वाधारको अभाव, कठिन भौगोलिक अवस्था जस्ता कारणले आर्थिक गतिविधि न्यूनमात्रामा भएको बैंकले जनाएको छ । यस प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या ४१ प्रतिशतमात्र रहेको जानकारी दिदैं निर्देशक न्यौपानले उद्योगधन्दा पनि कम र त्यसबाट उत्पादित रोजगारी पनि असाध्यै न्यून रहेको पाइएको बताए । मुलुकभर कूल चार हजार ७६ हजार उद्योग भएपनि कर्णाली प्रदेशमा केवल ४४ वटा मात्र रहेको र त्यो पनि सुगम सुर्खेतमा मात्रै रहेको उनले जनाए ।

त्यतिमात्र होइन बैंकमा पहुँच पनि यस प्रदेशमा कम मात्रामा रहेको छ । गाउँपालिकामा बैंकमा खाता खोल्ने जनसंख्या केवल ६ प्रतिशत रहेको नगरपालिकामा ५४ प्रतिशत रहेको विभागका महानिर्देशक न्यौपानेले बताए । उनले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा आर्थिक गतिविधिहरु कम भएपनि पर्यटन, जलस्रोत, खानीखनिजका उद्योगहरु स्थापना हुन सकेको खण्डमा आर्थिक गतिविधि द्रुत गतिमा बढ्ने विश्वास गरे ।
राष्ट्र बैंकले कृषि, उद्योग र सेवा अन्तर्गत विभिन्न क्षेत्रहरुको अवस्थ पहिचान गर्न, कूल गार्हस्थ उत्पादनको क्षेत्रगत एवं समष्टिगत प्रक्षेपणको लागि आवश्यक आधार तयार गर्न, आर्थिक समस्याहरुको पहिचान गर्न, भौगोलिक रुपमा आर्थिक सम्भावनाको पहिचान गर्न मुलुकभरका कूल ५७ वटा जिल्लामा आर्थिक गतिविधिहरुको अध्ययन गरिरहेको जनाएको छ । अध्ययनमा पर्यटन, बैंकिङ क्षेत्र, घरजग्ग कारोबार तथा घर नक्सा पास, शिक्षा तथा स्वास्थ्य, यातायात र संचारका साथै कृषि, उद्योग तथा सेवा क्षेत्रहरु समेटिने निर्देशक न्यौपानेले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशको आर्थिक अवस्था अहिले न्यून भएपनि पर्यटन, जलस्रोत, खानी, जडिबुटीका उद्योगहरुबाट समृद्धि प्रदेश बनाउने सरकारको लक्ष्य रहेको जनाए ।
प्रकाशित मिति: ३ पुष २०७५, मंगलवार १७:४२