काठमाडौँ । पैँतीस बुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ शुक्रबार सम्पन्न भएको छ ।
यही मङ्सिर २२ गतेदेखि शुरु भएको महाभेलाले नेपालको संविधानले प्रत्याभूत गरेको मानवाधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकारको कार्यान्वयन गर्न पहल गरिने जनाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा आवश्यक सबैखाले कानूनको निर्माण गरी प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनाका साथै सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व तथा सहभागितालगायत दीगो विकास, स्थायी शान्ति, समानता, स्वतन्त्रता, न्याय, मानव मर्यादामा आधारित मानवअधिकारको सुनिश्चितताका लागि सरकार समक्ष रहेको आह्वान गरिएको छ ।
मानवाधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको महाभेलामा शान्ति, लोकतन्त्र र मानवाधिकारको विषयमा सघन संवाद गरिएको थियो । विगत वर्षमा काठमाडौँ र अन्य जिल्लामा मात्रै भेलाको आयोजना गरिएपनि यस वर्ष भने देशैभरी प्रदेश स्तरमा भव्य रुपमा भेला आयोजना गरिएको थियो । “कुनै पनि व्यक्तिलाई जात, जाति, लिङ्ग, धर्म, वर्ग, नश्ल, रङ्ग, वंश, समुदाय, भूगोल र पेशाका आधारमा गरिने छुवाछूत व्यवहार तथा सबैखाले विभेदको अन्त्य गर्नका लागि संविधानमा भएका व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न र सरोकारवालाको हितमा हुने गरी संसोधनसमेत गर्नका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ’ घोषणापत्रमा उल्लेख छ ।
प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार ०७:०५