सुर्खेत । कर्णाली प्रदेश प्रहरीले आत्महत्या विरुद्धको अभियान चलाउने भएको छ । विहीबार कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले कर्णालीमा आत्महत्या प्रमुख समस्याको रुपमा देखिएको भन्दै प्रहरीले यसलाई न्युनिकरण गर्न गाउँगाउँमा अभियान नै चलाउने जानकारी दिए । उनले अभियानका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सहकार्य गरिने बताए । उनका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा प्रदेशभर ७ सय ९४ जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले कर्णाली प्रदेशमा महिला हिंसा, जबर्जस्तीकरणी, हत्याजस्ता अपराध निरन्तर बढ्दै गएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७२-०७३ मा १ हजार १७ अपराध भएको, आर्थिक वर्ष २०७३-७४ मा १ हजार ४७, आर्थिक वर्ष २०७४-७५ मा १ हजार २ सय ४८ वटा अपराध कर्णालीमा प्रदेशमा भएका छन् ।
डिआईजी शाहका अनुसार कर्णालीमा आवश्यक प्रहरीको जनशक्ति नहुँदा काममा चुनौति देखिएको छ । उनले प्रदेशभर करिब १५ सय भन्दा बढी जनशक्ति अपुग रहेको जानकारी दिए । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कर्णालीमा अपराधिक घटना बढ्दै गईरहेको डिआईजी शाहले जानकारी दिए । उनका अनुसार सुर्खेत सबैभन्दा बढी अपराध हुने जिल्लामा परेको छ । तीन वर्षको तथ्यांकअनुसार अहिलेसम्म १३ हजार ८ सय ८५ अपराध कर्णाली प्रदेशका १० जिल्लामा भएको डिआईजी शाहले जानकारी दिए ।

यसैबिच, विहीबारदेखि प्रदेश प्रहरी कार्यालयले भिडियो मार्फत सबै जिल्ला प्रहरी कार्यालयसँग कन्फेरेन्स गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयबाट नै प्रदेशका दशवटै जिल्ला प्रहरी कार्यालयसँग प्रत्यक्ष सम्पर्कमा रहेर कार्यक्रम गरिने डिआईजी शाहको भनाई छ । साथै उनले भिडियोमार्फत नै अन्य जिल्लाका नागरिकसँग समेत संवाद गरिने बताए ।
कार्यक्रममा कात्तिक महिनामा उत्कृष्ट काम गरेको भन्दै सुर्खेतका एसपी वसन्त रजौरेलाई प्रमाणपत्रसहित सम्मान समेत गरिएको छ ।
प्रकाशित मिति: २७ मंसिर २०७५, बिहीबार १७:१३