सुर्खेत । नजिकैको नदी तथा खोला नाला, अनि छेउमै रहेको जमिन बाँझै । खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता । वर्षौं देखिको यो समस्या अन्त्य गरेको छ, सोलार सिष्टमबाट शुरु गरिएको लिफ्ट सिंचाई प्रविधिले ।

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गतको भेरी करिडोर सिंचाई आयोजनाले भेरी नदी, जमिन मुनिको पानी र पोखरीको पानी सोलार सिष्टममार्फत गाउँमा सिंचाई पु¥याएपछि वर्षौं देखिको सिंचाई समस्या समाधानमा सहयोग पुगेको हो ।
सोलार सिष्टममार्फत गाउँमा सिंचाई पुगेपछि भेरी करिडोरका सुख्खा जमिनमा बाह्रैमास हराभरा भएको छ ।
गुर्भाकोट नगरपालिकाको मेहेलकुना गोगुलपुरका बासिन्दा बाह्रैमास सिंचाई सुविधा पुगेपछि व्यवसायिक तरकारी खेतीमा लागेका छन् । जहाँ यस्तै ७० घरधुरी रहेका छन् ।
गुर्भाकोट नगरपालिकामा मात्रै नभएर भेरीगंगा नगरपालिकाको मैनतडा, छिन्चु, सिम्ता गाउँपालिकाको मस्ताडा, लेकवेशी नगरपालिकाको लेकफर्सा, चौकुने गाउँपालिकाको घाटगाउँ र सल्यानका बासिन्दाहरु बाह्रैमास सिंचाई सुविधा पुगेपछि तरकारी खेतीमा लागेका छन् ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मनोज थापाले लिफ्ट सिंचाईका आयोजनाहरुमा निर्माणको काम तिव्र गतिमा भइरहेको जानकारी दिए । उनले लिफ्ट सिंचाई आयोजनाको काम विगत तिन वर्षदेखि सुरु भएको बताए ।
भेरी–बबई आयोजनासँगै भेरीको सुर्खेतको घोरेटादेखि घाटगाउँसम्मको एक सय २५ किलोमिटर क्षेत्रमा सिंचाई, विद्युतीकरण र सडक पु¥याउने उद्देश्यले भेरी करिडोर सिंचाई विकास आयोजना सुरु गरिएको हो । एक वर्षको अवधिमा आयोजनाले सोलार र विद्युतमार्फत एक सय ७८ योजना र कुलो मर्मत समेत गरी एक हजार १६ हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याएकोे आयोजनाले जनाएको छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर थापाका अनुसार अघिल्लो आर्थिक वर्ष भेरी किनारमा चार सय सिंचाई योजना सञ्चालन गरिएका थिए । उनले भने ‘ति मध्ये डेढ सय लिफ्टमार्फत र दुई सय ५० सिंचाई कुलो निर्माण गरेका छौ’ ।
उनले सुर्खेतको पश्चिम चौकुने गाउँपालिकाको घाटगाउँमा सिंचाई आयोजनाका चारवटा योजना मध्ये तिन वटा काम सम्पन्न भइसकेको र एउटा काम हुँदै गरेको जनाए । इन्जिनियर थापाले सिम्ताको मस्ताडामा एउटा लिफ्ट सिंचाईको काम भइरहेको बताए । उनका अनुसार भेरीगंगा नगरपालिकाको मैनतडा,छिन्चु,लेकवेशी नगरपालिकाको लेकफर्साको भुतियामा एउटा सिंचाई आयोजना रहेका छन् । जसको कार्य जारी रहेको छ ।
सिनियर डिभिजनल इन्जिनियर थापाले प्रत्येक स्थानीय तहहरुमा एउटा सिंचाई आयोजनाले ५० घरधुरी परिवार लाभान्वित हुने गरेको बताए । उनले १५ देखि २५ हेक्टर जमिनमा एउटा लिफ्ट सिंचाई आयोजनाले कभर गर्ने जनाए । सिंचाई सुविधापछि व्यवसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने लक्ष्य रहेको उनले बताए । उनले लिफ्ट सिंचाई आयोजना भेरीको किनार, खोलाको किनारबाट पानी तान्न सजिलो हुने भएकोले सोही ठाउँमा बनाउने गरिएको बताए । उनका अनुसार लेकवेशी नगरपालिका, छिन्चु, घुमखहरे र सल्यानमा विद्युतिय लिफ्ट राखिएको जानकारी दिए ।
भेरी–बबई बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर थापाले आर्थिक वर्ष २०८९-८० मा सुर्खेतका स्थानिय तहहरुमा लिफ्ट सिचाँई आयोजना सक्ने लक्ष्य रहेको जनाए ।
प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार १५:४३