सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नकारात्मक सोचबाट समृद्धि नआउने बताएका छन् । उनले समाज बदल्न सकारात्मक सोच चाहिने र त्यसको अगुवाई पत्रकारहरुले गर्न सक्ने भएकोले नेतृत्व गर्न सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औ बार्षिक साधारणसभाको विहीवार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अहिले सकारात्मकभन्दा नकारात्मक सोच हावी भएको र यसले समृद्धि नआउने उल्लेख गरे । पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध भएको स्पष्ट पार्दै मुख्यमन्त्री शाहीले अझैपनि कुनै समस्याहरु भए महासंघसंग समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । उनले संचार जगतसंग प्रदेश सरकार र नागरिकले धेरै आशा राखेको जनाए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुद देवकुमार सुवेदीले सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले प्रदेशको मिडियाको विकासको नेतृत्व गर्नपनि सुझाव दिए । स्थानीय सरकारहरुसंग समन्वय गर्न सके जिल्लाको पत्रकारिताको क्षेत्रको विकास गर्न सकिने उनको भनाइ छ । पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले मर्यादित पत्रकारिता बनाउनका लागि आचारसंहितालाई नभुल्न जोड दिए ।
महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको सभामा पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, प्रदेश महासंघका अध्यक्ष दुर्गा थापा, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
चार पत्रकार पुरस्कृत
साधारणसभाको अवसरमा सुर्खेतमा क्रियाशील चार जना पत्रकार पुरस्कृत भएका छन् । रु. ५ हजार राशीको बर्ष पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्यक्ष, १० हजार राशीको खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्कारबाट कर्मसञ्चार डटकमका सम्पादक ईश्वर अधिकारी पुरस्कृत भएका छभने जनही १०-१० हजार राशीको शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट खबर इरा डटकमका विमला खड्का र प्रदेश एफएमका धर्मराज जिसी पुरस्कृत भएका छन् ।

यसैगरी सुर्खेतको पहिलो पहिलो पत्रिकाका सम्पादक एवं अग्रज पत्रकार टंकप्रसाद भट्टराई पनि महासंघ सुर्खेत शाखाले सम्मान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई पुरस्कृत गरेका थिए । सभामा सचिव सुदीप पुरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनपनि पारित गरेको छ ।
प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार १७:२५