सुर्खेत । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्तरगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ । विडम्बना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्रास्थित रहेका बादी समुदायका बालबालिकाहरु अभिभाबक संगै गिट्टि कुट्न, बालुवा बोक्न जान्छन, तर बिद्यालय जादैनन ।

झुप्रास्थित बादी समुदायका धेरैजसो बालबालिका बिचमै पढाई छाड्ने गर्दछन् । पढाईका लागि उनीहरु भेरीगंगा नगरपालिका छिन्चु या त धुलियाविट जानुपर्ने बाध्यता भएका कारण बिचैमा पढाई छाड्ने गरेका हुन् ।
विद्यालय टाढा भएका कारण नै बादी समुदायका बालबालिकाले पढाई बिचैमा छाड्ने गरेको स्थानिय कविता बादीले बताइन् । उनले बालबालिकाहरु विद्यालय जाँदा गाडीमै जानुपर्ने र समयमै गाडी नपाउँदा विद्यालय पुग्न नसक्दा बिचैमा पढाई छाड्नुपर्ने बाध्यता रहेको दुखेसो पोखीन् । उनले भनिन ‘मेरी छोरीलाई बिहानै स्कुल पठाउछु, धेरैजसाे त गाडी नपाएरै फर्किन्छे ’। उनका अनुसार गाडी नपाउँदा समयमा विद्यायलय नपुग्ने कारण बादी बालबालिका पढाई छाड्ने गर्दछन् ।

बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टि कुट्न, झुप्राखाेलातर्फ लाग्छन् । साथै उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आयस्रोतको माध्यम केहिपनि छैन । भारी बोक्ने, गिट्टि बालुवा निकाल्ने, माछा मार्ने लगायतका गतिबिधि गरेर दिनचर्या बिताउँने गरेका छन् । अधिकासंको न आफ्नो खेतबारी छ, नत घर जमिननै । बस्तीभरी फोहोरमैला र दुर्गन्ध मात्रै भेट्टिन्छ । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसङगतिले समेत जरा गाडेर बसेको छ ।
बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानी गरेपनि बालुवामा पानी हालेजस्तै हुने गरेको छ । त्यसकारण अब राज्यले प्रभाबकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारहरुलाइ स्वरोजगारी सृृजना गर्दै आत्मनिर्भर बनाउन आबश्यक रहेको छ । ब्यवहार परिवर्तन गरेर जीबिकोपार्जनमा ध्यान दिए अहिलेको अवस्थाबाट यो समुदायका मानिसहरु माथी उठ्न सक्ने सम्भाबना रहेको छ ।
प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार १६:०५