सुर्खेत । सुर्खेतको ट्राफिक प्रहरीले सवारी चालकहरुलाई ठाउँको ठाउँ ट्राफिक सचेतना दिन थालेको छ । बढ्दो सवारी दुर्घटना र जोखिमलाई न्यूनीकरण गर्नका लागि ट्राफिकले यो तरिका अपनाएको हो ।

वीरेन्द्रनगर बजार भित्रका साथै विभिन्न नाका तथा सदरमुकाम बाहिरका मुख्य ठाउँहरुमा समेत सवारी साधनहरु रोकी ठाउँको ठाउँमै ट्राफिक चेतना दिइएको छ । सडक, चोकहरुमै बस, जीप, अटो, ट्याक्टर, मोटरसाइकलहरु रोकेर ट्राफिक प्रहरीले चालकसहित पैदल यात्रीहरुलाई सवारी साधन ओभरटेक गर्ने, सडक पार गर्ने, हेल्मेट लगाउन सिकाउनेलगायतका ट्राफिक जनचेतना दिइएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए । कार्यालयमै बोलाएर दिएको जनचेतनाभन्दा ठाउँको ठाउँमै दिइएको जनचेतना प्रभावकारी भएको दावी उनको छ । अहिलेसम्म तीन हजार बढी चालकहरुलाई सचेतना दिइसकिएको बताइएको छ ।
सडक, चोकलगायतका ठाउँको ठाउँमै जनचेतना दिंँदा सवारी चालकमात्र होइन पैदल यात्रुहरु पनि लाभान्वित भएको ट्राफिक प्रहरी प्रमुख विसीले जनाए । जिल्लाका विभिन्न १३ स्थानमा प्रत्येक दिन ट्राफिक प्रहरीको ठाउँको ठाउँ सचेतना काम भइरहेको छ । कार्यालयमा बोलाउँदा धेरैलाई फुर्सद नहुने, आउन नमान्ने प्रवृत्ति भएकोले अन द स्पष्टमै सचेतना दिइएको उनले बताए ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीसमेत भएकोले पछिल्लो समय सवारी साधनको चाप र जनघनत्व ह्वात्तै बढेको छ । जसका कारणले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा निकै चुनौती थपिएको छ । वीरेन्द्रनगरभित्रै आधा दर्जन बढी स्थानलाई जोखिमयुक्त दुर्घटनास्थलको रुपमा मानिएको छ । मंगलगढी चोक, वीरेन्द्र चोक, यरी चोक, तिनकुने चोक, देउतीबज्यै चोक, धुलियाविट चोकलगायतका स्थानहरुमा ठाउँको ठाउँ सचेतना कार्यक्रम बढी फोकस गरिने ट्राफिक प्रहरी प्रमुख विसीले बताए ।
चार महिनामा १८ जनाको मृत्यु
चालु आर्थिक बर्षको चार महिनामा सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । सो अवधिमा २९ वटा दुर्घटना भएका छन् । जसमा ५३ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा धेरैजसो मोटरसाइकल छन् । भदौमा आठ र कात्तिकमा पाँच जना मृत्यु भएको छ । चाडपर्वको बेलामा बढी दुर्घटना र मृत्यु हुनेको संख्या पनि बढेको ट्राफिक प्रहरी प्रमुख विसीले बताए ।
सात हजार बढीलाई कारबाही, ४४ लाख राजश्व
यसैगरी सोही अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने सात हजार बढी सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छभने करिव ४४ लाख रुपैयाँ राजश्व उठाएको छ । सो अवधिमा सात हजार २ सय बढी सवारी साधनबाट ४३ लाख ८० हजार राजश्व उठेको जानकारी ट्राफिक प्रहरी प्रमुख विसीले दिए । जति शिक्षित भएपनि पढेलेखेका र जानेकैबाट ट्राफिक नियमको उल्लंघन बढी हुने गरेको उनले बताए । सुर्खेतमा दैनिक ३०० सवारीसाधन ओहोरदोहोर गरिरहने र नियमको उल्लंघन बढी गर्ने हुँदा कारबाही गर्ने र राजश्व संकलन गर्ने दर बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अटोलाई बाहिर जान रोक
छोटो दुरीका लागि भरपर्दो मानिएको अटोबाट बढी दुर्घटना हुन थालेपछि अहिले सदरमुकाम वीरेन्द्रनगरबाट बाहिर जान रोक लगाइएको छ । वीरेन्द्रनगरदेखि उत्तरतर्फ कपासेदेखि, पूर्व धुलियाविटदेखि र पश्चिम बांगेसिमलदेखि उता जान रोक लगाइएको हो । वीरेन्द्रनगर क्षेत्रको छोटो दुरीमा मात्रै संचालन गर्नुपर्ने अटोहरु बाहिरसमेत लैजाने र दुर्घटना बढी हुने गरेपछि रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख हरिबहादुर विसीले बताए ।
प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार १२:१७