पर्सा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको नीति भनेको लोकतन्त्रको छातिमा टेकेर लोकतन्त्रको टाउकोमा प्रहार गर्ने भएको बताएका छन् । नेपाली कांग्रेस पर्साले स्वर्गिय हरिहरप्रसाद कलवारको शोकसभामा बोल्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रको मुलभुत सिद्धान्त भनेको सवैलाई बराबर अवसर र बराबर अधिकार भएको बताए । उनले भने– ‘नेपाली कांग्रेस एउटा वर्गका लागि लडेको पार्टी होइन । कांग्रेस सवै वर्ग सवै क्षेत्र, सवै लिंग तथा सवै नेपालीको बराबर अधिकारका लागि लडेको पार्टी हो ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले कहिल्यै पूरा गर्न नसकिने सपना चुनाव बाँडेर चुनाव जितपछि केहि गर्न नसक्दा अहिले युवा र आम जनतामा निराशा छाएको बताए । उनले भने–‘कम्युनिष्टहरुले सपना बाँडेर चुनाव जितेका थिए । तर आज युवा र आम जनतामा निराशा छाएको छ । न कम्युनिष्टले केहि गर्न सके न मधेशी दलहरुले गर्न सके । मधेशी दलहरुले केपी ओली प्रवृतिको विरोध गरेका थिए । तर अहिले सत्ताका लागि तुम शरणम भएका छन् ।’ उनले कम्युनिष्ट र मधेशीहरुले केहि गर्न नसकेको गुनासो गरे । संविधान जारी गर्ने बेलामा पनि आफुहरुले तराई मधेशका गुनासालाई सम्बोधन गरेर संविधान जारी गरौ भन्दा कम्युनिष्टहरुले नमानेकाे स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रको मुलभुत सिद्धान्त भनेको सवैलाई बराबर अवसर र बराबर अधिकार भएको स्पष्ट पार्दै भने–‘कांग्रेस सवै वर्ग सवै क्षेत्र, सवै लिंग तथा सवै नेपालीको बराबर अधिकारका लागि लडेको पार्टी हो । नेपाली कांग्रेस लोकतन्त्र मधेश एक अर्कोका परिपुरक हुन् । तर अहिले राजनीतिमा असफल भएकाहरुले कुनै सानो वर्ग सानो समुह उचालेर राजनीति गरेका छन् ।’
पौडेलले कांग्रेसले चुनाव हा¥यो तर कम्युनिष्टहरुले चुनाव जितेपछि आम जनताले अहिले सम्म के पाए भनि प्रश्न गरे । उनले भने–‘हामीले सुरु गरेका पूर्वाधार भन्दा अरु केहि पूर्वाधार विकासको तयारी केहि छैन । अहिले त विभिन्न काण्डहरु सुन्न परेको छ । हत्या हिंसा बलत्कार दिनानुदिन बढेका छन् । आफ्नै पार्टीका मन्त्रीहरु विभिन्न काण्ड लगाएर निकालिएका छन् । यस्तो त पंचायतमा मात्र भएको थियो ।’
उनले मधेशमा कृषि क्रान्ति मार्फत किसानलाई सुकिला मुकिला बनाउन जरुरी रहेको बताउदै मधेशलाई समृद्ध बनाउनका लागि सिंचाइको व्यवस्था गर्न जरुरी रहेको तथा बस्ती सुधारको योजना बनाएर काम गर्न जरुरी रहेको बताए ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्र सुरक्षित नभएसम्म नेपाल र नेपाली सुरक्षित हुन नसक्ने भन्दै भ्रष्टचारको विरुद्धमा अब जनता बाहिर निस्कने बेला भएको स्पष्ट पारे । उनले नेपालको नीति निर्माण गरिदा अब गरिबमुखी नीति बनाउनुपर्ने भन्दै विगतमा मधेशमा आन्दोलन गर्नेहरुले आज के गरे भनेर मधेशीबासीले लेखाजोखा गर्ने बेला भएको बताए ।
प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहीबार १७:१८