सुर्खेत । जापान सरकारले अनुदानमा दिएको जापानिज चामल महंगो हुँदा गोदाममै थन्किएको छ । अनुदानमा आएको साढे १३ हजार क्वीन्टल जापानिज चामल लामो समयदेखि सुर्खेत स्थित नेपाल खाद्य संस्थान कार्यालयको गोदाममै थन्किएको हो ।
खाद्य संस्थान सुर्खेतमा गत चैतमा आएको जापानिज चामल महँगो भएकै कारण विक्री नभई गोमदाममै थन्किएको हो । नौ महिनाको अवधिमा १ हजार ४ सय कवीन्टल चामल विक्री भएको खाद्य संस्थान सुर्खेतले जनाएको छ । गोदाममा रहेको १३ हजार ६ सय क्वीन्टल जापानिज चामल तिहारपछि कर्णालीमा पठाउने नेपाल खाद्य संस्थान सुर्खेतका शाखा प्रबन्धक भिमबहादुर थापाले बताए । उनले भने ‘तिहार सकिए लगत्तै यो सबै चामल कर्णालीमा पठाउँछौ ।’
अनुदानमा आएको जापानिज चामल खाद्य संस्थानले प्रति केजी ६१ रुपैयाँमा मुल्य निर्धारण गरेका कारण माग घटेको हो । नेपाल खाद्य संस्थानले प्रति केजी ६१ रुपैयाँ मुल्य निर्धारण गरेको अनुदानको चामल महँगो भएका कारण विक्री हुन छोडेपछि गत पुनः सुर्खेतमा प्रतिकेजी ५६ रुपैँया ७५ पैसा मुल्य निर्धाण गरिएपनि जापनिज चामल विक्री हुन सकेको छैन् ।
नेपाल खाद्य संस्थान सुर्खेतका शाखा प्रबन्धक थापाका अनुसार मंसीरको पहिलो हप्तामा जापानिज चामलको मुल्य ४२ रुपैयाँका दरले घटाइने भएको छ । दुर्गम क्षेत्रका नागरिकहरुका लागि उक्त चामल महँगो भएर विक्री हुन नसकिरहेका बेला चामलको मुल्य घटाइने प्रबन्धक थापाले बताए । उनले भने, ‘सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।’
संस्थानको चामल अलि महँगो भएपनि बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामल भएको शाखा प्रबन्धक थापाको दावी छ ।
उक्त परिमाणको चामल जापानका नागरिकले आफ्नो छाक कटाई नेपालको उच्च पहाडी तथा हिमाली जिल्लाका गरिबका लागि पठाएका हुन् । जापान सरकारमार्फत नेपाल सरकारले गरिबका लागि प्राप्त गरेको यो चामल गएको चैतदेखि नेपाल खाद्य संस्थान कार्यालय सुर्खेत शाखाको गोदाममा भण्डारण गरिएको छ ।
उच्च पहाडी तथा हिमाली जिल्लाका गरिब नागरिकको खाद्य सुरक्षामा सहयोग पुर्याउन जापान सरकारले अनुदानमा चामल नेपाल पठाउने गरेको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार १६:३१