काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गरेकाे शुभकामना सन्देशमा व्यक्त गरेकी छिन् ।
समृद्ध नेपाल निर्माणमा प्रेरणा देओस्ः उपराष्ट्रपति
यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उपराष्ट्रपतिले सन्देशमा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छठले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सामाजिक र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने बताउनुभएको छ ।
सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई शुभकामना सन्देश दिँदै छठले एकापसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । छठबाट सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पूरा गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार ०७:१७