धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताएका छन् । अाइतबारदेखि जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै मन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न हरसम्भव प्रयास गर्ने बताए ।
उनले भने, “हाम्रो प्रदेशमा करीब ५० प्रतिशत बढी दर्ता भएको मुद्दा जग्गा जमीनको रहेको छ, जग्गा जमीनकै कारणले विशेष गरेर दाजुभाइमा झगडा उत्पन्न हुन्छ, रुपैयाँको लोभमा नापी विभागका कर्मचारीले कसैको जग्गा जमीन कसैको नाममा सिफारिश गरिदिन्छ, यस्ता कर्मचारीलाई कानूनअनुसारको सजाय दिलाउछु, म आफ्नो कार्यकालभित्र भ्रष्टाचार हुन दिन्न ।”
विभिन्न विषयमा नापीका प्रमुखसँग छलफल भएको उक्त कार्यक्रममा राज्यमन्त्री योगेन्द्र यादव, भूमि व्यवस्था तथा महानिर्देशक, अभिलेख विभागका प्रमुख सचिव हरिप्रसाद फुयाँलले पनि मन्तव्य व्यक्त गरेका थिए ।
जन्तीलाई ‘धोती गम्छा’
मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा दीपावली तथा छठपर्वको अवसरमा अाइतबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले भारतबाट आउने जन्तीलाई मधेशीको पहिचान धोती, कुर्ता र गम्छा लगाएर बिदाइ गर्ने बताए ।
नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपञ्चमी महोत्सवमा मधेशको संस्कृति झल्कने गरी जन्तीलाई बिदाइ गर्ने बताए ।
कार्यक्रममा बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई सफल बनाउन र यस प्रदेशलाई एक शिक्षित प्रदेश बनाउको लागि प्रदेश सरकारले चालेको कदममा सबैले मिलि सहयोग गर्ने आग्रह गरे । चियापान कार्यक्रममा प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश नं २ का अन्य मन्त्रीगण, प्रदेशसभा सांसद, प्रतिनिधिसभा संसद्, राष्ट्रियसभा सदस्यको सहभागिता थियो ।
प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार ०६:०१