सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुक नबन्ने जिकिर गरेका छन् । मंगलवार जिल्ला समन्वय समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहहरूको आर्थिक वर्ष २०७४-०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई विकास गर्नका लागि भ्रष्टाचारलाई नियन्त्रण गर्नुपने बताएका हुन् । उनले संघीय सरकारको व्यवहारका कारण कतिपय कामहरु गर्न नसकिएको पनि बताए ।
आफ्नै सत्तारुढ दलबाट नै विना अर्थ, विरोधका नाममा विरोध हुने गरेको बताउँदै जहाँ पनि विरोध गर्ने संस्कारले गर्दा देश नबन्ने बताएका हुन् । ‘देशका तिनै तहका सरकारहरु नेपाल सरकार नै हुन, सबै नेपालकै अंग हुन,’ उनले भने, ‘तर संघीय सरकारका केही मन्त्रीहरुले नेपाल सरकार आफू मात्रै हौँ भन्ने जस्तो व्यवहार देखाइरहेका छन, उनीहरुले त्यो व्यवहार हटाउन जरूरी छ ।’
मुख्यमन्त्री शाहीले सबै दलको सहकार्य र सहमतिका कारण संविधान आएको बताउँदै सबै नेता, कार्यकर्ता, दलहरूसँग नीति निर्माण र योजना छनोट तथा कार्यान्वयनमा सहमति, सम्झौता गरेको खण्डमा देश बनाउन सकिने बताए ।
संघीय सरकारको व्यवहारका कारण कतिपय कामहरू गर्न नसकिएको मुख्यमन्त्री शाहीले बताए । ‘तीनै तहका सरकार नेपाल सरकार नै हुन् । सबै नेपालकै अंग हुन,’ उनले भने, ‘तर संघीय सरकारका केही मन्त्रीले नेपाल सरकार आफू मात्रै हो भन्ने जस्तो व्यवहार देखाइरहेका छन् । उनीहरूले त्यो व्यवहार हटाउन जरुरी छ ।’
प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले संविधान कार्यान्वयन गर्दै जटिलता फुकाउँदै जनताका अपेक्षाहरू पूरा गर्न जरुरी रहेको बताए । ‘देश नयाँ संरचनामा गएको छ । विभिन्न जटिलताहरू छन,’ सांसद शाहीले भने, ‘तर जनताका तीव्र विकासको चाहनालाई सम्बोधन गर्न जसरी पनि ति जटिलताहरू पार गर्नुपर्ने मेरो सुझाव छ ।’
उनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलवार १७:०९