सुर्खेत । अहिले शहरी क्षेत्रमा बस्ने मानिसको जीवन सधैं हतारोमा बित्दछ । जता हे¥यो उतै मान्छे, कोलाहल, गाडिको धुवा, सडकको धुलो र प्रदुषणले सबैलाई दिक्क बनाउछ । शहरी क्षेत्रका मानिसहरु समय निकालेर घुमघाममा निस्कन चाहन्छन । घुमघामले तन र मन दुबैलाई रिचार्ज गर्छ र उर्जा पनि बढाउँछ । घुमघाम गर्न विदेशै जानुपर्छ भन्ने छैन । पर्यटक भएर नेपाल भित्रनै घुमघाम गर्ने धेरै गन्तव्य छन् । पर्यटकहरुको लागि आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा मात्र होइन गाउँ घरमा होमस्टे पनि सञ्चालनमा आएका छन् ।
होमस्टेमा पर्यटक अर्थात पाहुनालाई परिवारका सदस्यसँग एउटै भान्छामा खाना खुवाइन्छ । बास बसेको घरमा परिवार सगै खाना खादा पर्यटकहरु रमाउने गर्दछन । होमस्टे सञ्चालन गर्ने परिवार संग रमाउदै खाना बनाउन, तरकारी केलाउन वा बारीमा काम गर्न पनि पर्यटकहरु तम्सीन्छन । शहरी भेगका बालबालिकालाई होमस्टेमा बस्दा रमाउने मात्र होइन गाउँले जीवनशैली देख्दा खुशी मान्दछन । चामल कहाँबाट आउँछ, गाइभैंसीले दुध कसरी दिन्छन, तरकारी कसरी फल्छ भन्ने जस्ता कुरा प्रत्यक्ष देख्न पाउँछन् । शहरी बालवालिकाहरुका लागि अनौपचारिक पाठशाला हुन्छ ग्रामीण भेगका होमस्टे । होमस्टेमा सित्तैं बस्न भने पाइँदैन । केही रकम तिर्नुपर्छ, तर त्यो रकम होटल वा रिसोर्टको भन्दा सस्तो पर्दछ । तर पनि होमस्टेमा पैसाले किन्नै नसकिने आत्मीयता पाइन्छ ।
शहरी बजारका रेस्टुरेन्ट र होटेलको भन्दा छुटै स्वाद चखाउन र थारु परम्परा र संस्कृति जोगाउनका निम्ति कर्णाली प्रदेशको वीरेन्द्रनगर १० नयाँगाउँस्थित थारु समुदायमा कर्णाली प्रदेश थारु होमस्टे स्थापना भएको छ । थारु समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृतिका संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो ।
स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यम बाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक जितबहादुर चौधरीले बताएका छन् । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका रुपमा परिचित क्षेत्र रहेकाले होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताए ।
कर्णाली प्रदेश थारु होमस्टे प्राकृतिक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण रहेका कारण अनुसन्धानकर्ताको लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ । थारु जातीहरु बाट सन्चालन गरेको होमस्टेमा आजभोली थारुको खानपिन, जीवनशैली र संस्कृति हेर्न पर्यटक आउने गरेको सञ्चालक चौधरीले बताए ।
कर्णाली प्रदेश थारु होमस्टेमा थारु परिकार धिक्री खाजा सेट, लोकल कुखुराको परिकार, घोघी, माछा, स्थानिय सेतो भेडाको परिकार, गेगटा लगाएत परिकार पाइने होमस्टे सञ्चालक जितबहादुर चौधरीले बताए ।
संचालक थारुले रेष्टुरेन्टमा विशेष तहः थारु परिकार पाइने भए पनि थारु भन्दा गैरथारु ग्राहक धेरै नै आर्कषित भएको बताए ।
प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार १३:३४