सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई बलात्कारका घटना न्युनिकरण गरी सुरक्षित सुर्खेत बनाउने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले सम्पूर्ण सरोकारवाला व्यक्तिहरु हातेमालो गरेर अघि बढेमा घटना न्युनिकरण हुने भन्दै अभियानकै रुपमा लग्नुपर्नेमा उनीहरुको जोड थियो ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लु जे) सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको सन्डे क्लव अन्र्तगत बलात्कार न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरेले सुरक्षित सुर्खेतको अभियानलाई अघि बढाएको बताए । ‘बलात्कारका घटनाप्रति हामी संवेदनशिल छौ’ रजौरेले भने, ‘घटना हुन नदिन नागरिकलाई सचेत बनाउनुको साथै विभिन्न कार्यक्रमहरु पनि संचालन गरेका छौ’ त्यसैगरी जिल्लामा रहेका बलात्कारका पीडकलाई कानुनी कारवाहीमा ल्याएको रजौरेले बताए । ‘बलात्कारका पीडकहरुलाई कानुन बमोजिम कारवाही गरेका छौ’ प्रहरी उपरिक्षक रजौरेले भने, ‘केहीको अनुसन्धान कार्य भइरहेको छ ।’ उनले जिल्लामा बलात्कार तथा महिला हिंसाका घटना हुन नदिनको लागि प्रहरी गाउँ तथा बस्तीसम्म विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराए । अहिलेसम्म जिल्लाका दुई सय ७३ स्थानमा सचेतनामुलक कार्यक्रम गरेको प्रहरी उपरिक्षक रजौरेले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले बलात्कारका घटना न्युनिकरणमा सघाउ पुग्ने गरी समाचारहरु प्रकाशन तथा प्रसारण गरिनुपर्नेमा जोड दिए । घटना न्युनिकरणमा मिडियाको भुमिका सशक्त हुनुपर्ने सेजुवालले बताए । ‘बलात्कार भयो मात्र भन्नुभन्दा पनि यसको खोजमुलक रुपमा समाचार ल्याउनुपर्छ’ उनले भने, ‘त्यसैगरी पीडितले न्याय पाउने गरी प्रशासन तथा प्रहरीको दवाव र प्रभावलाई परास्त पार्नेगरी समाचार सम्प्रेषण गरिनुपर्छ ।’
महिला तथा बालवालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बालिकाले प्रतिकार गर्न सक्दा नै बलात्कारका घटना बढेको भन्दै यसको लागि उनीहरुलाई प्रतिकार गर्ने खालका कार्यक्रम ल्याउन जरुरी रहेको औँल्याइन् । बलात्कार तथा यौन शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुका साथै कानुनको बारेमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको शाहीको भनाई थियो ।
अधिवक्ता रमा प्याकुरेलले कानुन बनेको अवस्थामा पनि यस्ता घटना घट्नु दुःखद रहेको भन्दै सरोकारवाला निकायहरु हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको बताइन् । ‘बलात्कारका घटनामा पीडितले न्याय नपाउनुको मुख्य समस्या भनेको प्रमाणहरु नजुट्नु हो’ उनले भनिन्, ‘यसको लागि हामीसँग प्रमाण जुटाउने प्रविधि नभएकोले यसतर्फ पनि सोच्नु जरुरी रहेको छ ।’
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) कर्णाली प्रदेशका संयोजक तीला भण्डारीले बलात्कारका घटना न्यूनिकरण गर्नेु सबैको दायित्व रहेको औँल्याइन् । त्यसमा मिडियाको सशक्त भुमिका हुने भन्दै पत्रकारहरु संवेदनशिल भएर समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिइन् । संकल्पका कर्णाली प्रदेश सचिव किमसरा खत्रीले बलात्कारका घटनाका पीडित चुप लागेर बस्ने कारणले गर्दा पीडितले न्याय नपाएको भन्दै कानुनी शिक्षा आवश्यक रहेको बताइन् ।
नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश उपाध्यक्षद्धय कमल पन्त र डम्मर आचार्यले पुरुष मानसिकता पविर्तन गरेमा घटना न्युनिकरण हुनेमा जोड दिए । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले छोरीको सुरक्षा सबै निकायले पहल गर्नुपर्ने बताए । उनले चाडपर्वका बेलामा असुरक्षा हुने र यस्ता घटना हुने भन्दै प्रहरी प्रशासनले यसमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रम क्रियाशिल पत्रकार महिला (डबलुडब्लु जे) सुर्खेतका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलवार १६:१३