धनुषा । मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।
महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा साेमबार अायोजित मधेश आन्दोलनका घाइतेको सम्मान कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
प्रदेश सरकारले मधेश आन्दोलन क्रममा घाइते भएकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रथम मधेश आन्दोलनका क्रममा गम्भीर घाइते भई एउटा खुट्टासमेत गुमाएका पिपरा गाउँपालिका–५ रतौलीका ठाकुरलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा मुख्यमन्त्री राउतले मधेश आन्दोलनकै बलमा मुलुकमा सङ्घीयता स्थापित भई प्रदेश नं २ मा मधेशी जनताको भावनाबमोजिम सरकार गठन भएको उल्लेख गर्दै मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिइने प्रदेश सरकारको निर्णयअनुरुप काम शुरु गरिसकेको बताए ।
शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिइने प्रतिबद्धता व्यक्त गर्दै उनले मधेश आन्दोलनका घाइतेको सङ्ख्या हजाराैँ रहेकाले उनीहरुको अवस्था हेरि क्रमशः सहयोग रकम उपलब्ध गराउने बताए ।
मुख्यमन्त्री राउतले मधेशी जनताको अधिकारीविरुद्ध हुने कुनै पनि गतिविधि प्रदेश सरकारले स्वीकार गर्न नसक्ने उल्लेख गर्दै प्रदेशको शान्तिसुरक्षा र विकासको जिम्मा प्रदेश सरकारको रहे पनि केन्द्र सरकारले त्यसमा अल्झाएर सङ्घीयतालाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप लगाए ।
सङ्घीय प्रणालीको संस्थागत विकासका लागि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी ऐन प्रदेशसभामा टेबल गरेको छ, उनले भने, “दुई–तीन दिनमै प्रहरी ऐन पास गराउँछौँ, करार ऐन पनि पास हुन्छ, त्यसपछि संविधान प्रदत्त गरेको सबै अधिकार कार्यान्वयनतर्फ हामी लाग्छाैँ ।”
मुख्यमन्त्री राउतले प्रदेशभित्र पनि केही शक्ति प्रदेशलाई समृद्ध बन्न देख्न नचाहेकोे उल्लेख गर्दै त्यस्ता शक्तिविरुद्ध लड्न सबैमा आग्रह गरे ।
यसैगरी झाडापखाला प्रभावित महोत्तरी जलेश्वर नपा–१२ नैन्ही क्षेत्रको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले झाडापखालाबाट मृत्यु भएका परिवारलाई रु एक–एक लाख क्षतिपूर्ति दिइने घोषणा गरे ।
अस्वच्छताका कारण यस्ता रोग फैलिने गरेको उल्लेख गर्दै उनले आ आफ्नो घरबाट सरसफाइमा लाग्न पनि सबैमा आग्रह गरे ।
निरीक्षण टोलीमा जलेश्वर नपाको प्रमुख रामशङ्कर मिश्र, पूर्वमन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र किरण कुमारी रायलगायत सहभागी थिए ।
प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलवार ०८:१३