सुर्खेत । सुर्खेतको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयसँग तीस वर्षअघि जुन भवन थियो अहिले पनि त्यहि भवन छ तर जीर्ण । जिर्ण भवनमा ज्यान जोखिम पारेर बिद्यार्थीहरु पठनपाठन गर्न र शिक्षकहरु पढाउन बाध्य भइरहेका छन् । शिक्षामा सुस्त श्रवण भएका बालबालिकाको पहुँच पु¥याउने उद्देश्यले स्थापित विद्यालय सरकारी उपेक्षाका कारण अहिले पनि ३० वर्षअघिकै जनशक्ति र भौतिक पूर्वाधारका भरमा सञ्चालन भइरहेको छ ।

जिर्ण भवनमा जस्तापाता पुराना भएका कारण कक्षा कोठामा पानी चुहिन्छ । भवनको अभावमा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्ने गरिएको छ । जनशक्ति नथपिएका कारण पठनपाठनमा समस्या छ भने विद्यार्थीहरु ९ कक्षापछिको शिक्षाबाट वञ्चित रहेका छन् ।
सिद्ध सुस्त श्रवण विद्यालयमा पढाउने शिक्षिका टिका ढकालले विद्यार्थीहरुलाई सांकेतिक भाषा बुझाउनका लागि अझै तालिमको आवश्यकता रहेको बताउँछिन् । आफुले पढाउने विषय विज्ञान नभएपनि पढाउनुपर्ने बाध्यता भएको उनले बताइन् । उनले विज्ञान विषय पढाउँदा शब्द संकेतहरु नहुँदा विद्यार्थीहरुलाई बुझाउन निकै गाह्रो हुने बताइन् । नेपाली भाषा, समाजिक भाषामा संकेतहरु भएपनि विज्ञान विषयमा संकेत नहुँदा पढाउँदा धेरै समस्या हुने गरेको शिक्षिका ढकाल बताउँछिन् । उनले विषयगतका विषयमा शब्द संकेतहरु बनाउनका लागि आफुहरुलाई तालिमको जरुरत परेको बताइन् ।

सोही विद्यालयमा अध्यनरत विद्यार्थी पविता महतराले विद्यालयमा पंखाको सुविधा नभएको, शौचालयको सुविधा नभएको र शिक्षकहरु कम भएकाले आफुहरुलाई समस्या परेकोे बताइन् । उनले कक्षा कोठा सफा नहुनुका साथै विद्यालयमा खेल समाग्री नपुगेको गुनासो गरिन् ।
२०४५ सालमा स्थापित विद्यालयमा हाल १६ जिल्लाका १ सय २ विद्यार्थी अध्ययनरत छन् । सरकारले अन्य सामुदायिक विद्यालयसरह मान्यता दिएपनि पूर्वाधार निर्माण गर्न बजेट नदिएको विद्यालयको गुनासो छ ।
विद्यालयको जीर्ण अवस्था र जनशक्तिको कमीबारे विगतमा न त तत्कालीन जिल्ला शिक्षा कार्यालयले ध्यान दिएको थियो न त अहिले प्रदेश र स्थानीय सरकारले चासो देखाएका छन् ।
सामाजिक विकास मन्त्रालयका सामाजिक मन्त्री दल रावलले सिद्ध सुस्त श्रवण विद्यालयका लागि बजेटको व्यवस्थाका साथै उक्त विद्यालयमा शिक्षकहरुको क्षमता विकासको व्यवस्था गर्नका लागि उच्च तालिमको व्यवस्था गरिने बताए । उनले आउँदो वर्ष उक्त विद्यालयलाई भौतीक सुधार गर्नुका साथै विद्यार्थीहरुको गुणस्तर बढाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार १८:५४