कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले ठुलो बलीदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको उनको भनाई छ ।

भ्रष्ट्राचारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउँदै मुख्यमन्त्री शाहीले भने– ‘कामै नगरि गोजिमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’
भ्रष्ट्राचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढन थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गरे । स्थानीय जनप्रतिनिधिहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले भने–‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं ।’

कर्णालीको समृद्धिका लागि सवै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको बिकास गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफुले पनि ढुंगा बाेक्ने गरेको उनको भनाई छ । मुख्यमन्त्रीले ढुंगा बाेक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफुलाई थाहा भएको बताउँदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हासील नहुने बताए ।
अन्तरक्रियामा बाेल्दै मुख्यमन्त्री शाहीले आफनो क्षेत्रको विकासका लागि कसैको भर नपर्न आग्रह गरे । संसारका सवै राष्ट्र आफनो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएको बताउँदै उनले भने–‘अव कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफै उत्पादन र श्रममा लागौं ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खडकबहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाहीले पनि आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया अघि मुख्यमन्त्री शाहीले जिल्ला स्थित राजनैतिक दल, नेकपाका जिल्ला नेता तथा कार्यकर्ता र पत्रकारहरुसंग भेटघाट गरेका थिए । भेटघाटमा मुख्यमन्त्री शाहीले भ्रष्टाचार विरुद्ध प्रदेश सरकारले शुन्य सहनशिलताको नीति लिएको बताउँदै विकास निर्माणमा हुने भ्रष्टाचारका विरुद्ध नागरिक खबरदारी आवश्यक भएको बताएका थिए ।
प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार १७:२८