सुर्खेत । नेपाल खाद्य संस्थान सुर्खेतले चाडपर्वको अवसरमा खाद्यन्न अभाव नहुने जनाएको छ । दसैँ, तिहार र छठमा कर्णाली प्रदेशका हिमाली जिल्ला र दुर्गम जिल्लामा खाद्यन्न अभाव नहुने खाद्य संस्थान सुर्खेतका निमित्त प्रवन्धक जिवनाथ कंडेलले जानकारी दिए । उनले भने, ’हामीसँग पर्याप्त मौज्दात छ, दशैँ, तिहार र छठमा खाद्यन्न अभाव हुन दिने छैनौँ ।’

खाद्य संस्थान सुर्खेतका निमित्त प्रवन्धक जिवनाथ कंडेलका अनुसार प्रमुख चाड दसैं नजिकिँदै गर्दा नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका हिमाली र दुर्गम जिल्लाहरुमा खाद्यान्न ढुवानी गर्न सुरु गरेको छ । हालसम्म सडकले नछोएका कर्णालीका हुम्ला र डोल्पामा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । अर्कोतर्फ स्थानीय उत्पादनले मात्र वर्षभरि नथेग्ने भएकाले कर्णालीवासीले चाडपर्वमा चामल अभाव भोग्नुपर्ने बाध्यता छ । यही समस्या समाधानका लागि खाद्य संस्थानको सुर्खेतस्थित कार्यालयले दसैंका लागि अहिलेदेखि नै कर्णालीमा चामल पठाउन सुरु गरेको हो ।

दसैं र तिहारको समयमा अझ बढी खाद्यान्न अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दसंै र तिहारअघि नै खाद्यान्न पठाइसक्ने तयारी खाद्य संस्थान सुर्खेतले गरेको छ । संस्थानले चाडपर्वअघि नै खाद्यान्न पठाइसक्ने जनाएको छ । अहिले पनि प्रत्येक जिल्लाका खाद्य डिपोमा खाद्यान्न मौज्दात रहेको हुँदा यसपटक दसैं र तिहारमा अभाव नहुने खाद्य संस्थान सुर्खेतका निमित्त प्रवन्धक जिवनाथ कंडेलको दाबी छ ।
संस्थान सुर्खेतका निमित्त प्रवन्धक कंडेलका अनुसार हुम्लाको ग्रामीण बस्तीमा सेनाको हेलिकप्टरबाट खाद्यन्न र्पुयाउने प्रयास भइरहेको छ । उनले हुम्लामा हवाईमार्गबाट पठाएको चामल पर्याप्त मौज्दात रहेको बताए । उनले भने ‘हुम्लामा हवाईमार्गबाट पठाएको चामल ६ सय क्विन्टल चामल मौज्दात छ र अझैपनि त्यहाँ चामल पठाउने क्रम जारी छ । ’ उनले प्रदेश नं. ७ बाजुराको कवाडीमा चाडपर्व लक्षित गरेर पहिलो चरणमा १ हजार क्विन्टल चामल पठाउने र मागअनुसार थप चामल पठाउने बताए ।
खाद्य संस्थान सुर्खेतका अनुसार सुर्खेतस्थित गोदाममा २० हजार क्विन्टल भन्दा बढि खाद्यन्न मौज्दात रहेको छ ।’ नेपालगन्जमा पनि प्रशस्त स्टक छ, यातायात सुविधा भएको स्थानमा खबर आउने वित्तिकै पठाउन सकिन्छ, डोल्पा र हुम्लामा जति लगेपनि पुग्दैन ।’, निमित्त प्रवन्धक कंडेलले भने ।
कर्णाली प्रदेशका दैलेख, सल्यान, जाजरकोटबाहेकका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगुलगायतका डिपोमा हवाई र स्थल मार्ग हुदै खाद्यन्न ढुवानी हुने नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले जनाएको छ ।
सरकारले हरेक वर्ष कर्णालीमा अनुदानमा खाद्यान्न ढुवानी गर्दै आइरहेको छ ।
चाडपर्व लक्षित सहुलियतको चामल वितरण

नेपाल खाद्य संस्थान सुर्खेतले चाडपर्वको अवसरमा सहुलियत मुल्यमा खाद्यान्न विक्री वितरण गर्न लागेको जानकारी दिएको छ । खाद्य संस्थान सुर्खेतले असोज १२ गतेबाट कातिक २७ गते चाडपर्व लक्षित गर्दै सहुलियत मुल्यमा खाद्यन्न विक्री वितरण गर्न लागेको संस्थान सुर्खेतका निमित्त प्रबन्धक जिवनाथ कंडेलले जानकारी दिए ।
उनले सोना मन्सुली चामल प्रतिकेजी ४१ रुपैयाँ, जापनिज चामल प्रतिकेजी ५६ रुपैयाँ, जिरा मसीनो प्रतिकेजी ५१ रुपैयाँका दर रेटले विक्री वितरण भईरहेको बताए । उनले प्रत्येक वर्ष झै यस वर्षमा पनि स्थानीयको मागलाई मध्यनजर गर्दै सहुलियत मूल्यमा अभियानमुखि चामल विक्री वितरण गर्न लागेको बताए । यसवर्षमा चामल मात्रै नभएर मुगुको सिमी प्रतीकेजी १२० र कर्णालीको फापर प्रतीकेजी ७० का दरले विक्री वितरण गर्न लागेको उनले जनाए ।
प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार १६:४२