सुर्खेत । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधानमा प्रादेशिक संरचनालाई सबै अधिकार दिनु पर्ने सुझाव दिएका छन् । नेपाली कांग्रेसको विधान संसोधन सुझाव संकलन टोलीले वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने भेलामा कर्णाली प्रदेशका काँग्रेस नेता तथा कार्यकर्ताहरुले अधिकार सम्पन्न संरचना बनाउनुपर्ने सुझाव दिएका छन् ।
सुझाव संकलन कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले पार्टीमा अनुशासनको अभाव भएकाले विधानमा अनुशासन समितिलाई सशक्त बनाउनु पर्ने सुझाव दिएका छन् । पार्टीको विधानमा भुगोलका आधारमा महिलाहरुको प्रतिनिधित्व बढाउनु पर्ने, प्रदेश संरचना अनुसार सवै प्रदेशका अनुशासन समिति बनाउनु पर्नेलगायतका राय सुझाव आएको विधान मस्यौदा समितिका संयोजक मानबहादुर विश्वकर्माले बताए ।
प्रदेश र जिल्लाको सागठनिक संरचनामा ९-९ जना पधाकिारी हुनुपर्ने, पार्टीलाई विधि विधानबाट संचालन गरि संगठनलाई सुदृढ गराउनु पर्नेलागयतका आठवटा सुझाव आएको उनले बताए ।
समितिका संयोजक एवं केन्द्रीय सदस्य विश्वकर्माले अपेक्षा भन्दा बढी सुझाव आएको बताउँदै त्यसलाई केन्द्रीय समितिको बैठकमा लिएर व्यापक छलफल गरिने बताए । उनले लोकतान्त्रिक विधानलाई सशक्त बनाउनका लागि पार्टीले अहम भुमिका खेल्ने बताए ।
संयोजक विश्वकर्माले कार्यक्रम निकै फलदायी भएको बताउँदै यहाँबाट आएका सुझाव, सल्लाहलार्ई मस्यौदा समितिमा लगिने र त्यहाँ पनि छलफल गरी एकत्रित गराएर आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति भेलामा प्रस्तुत गरिने उल्लेख गरे ।
अर्का केन्द्रिय सदस्य प्रदिप पौडेलले युवालाई पार्टी भित्र आकर्षित गर्नकालागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका युवाहरुलाई पनि समेटिनु पर्ने विषयमा समेत छलफल भएको बताए । उनले अव बन्ने कांग्रेसको विधान सवैभन्दा लोकतान्त्रिक र समावेशी हुने दावी गरे । अवको विधानमा संगठनिय तवरले सजिलो हुने संरचाना राखिने उनले बताए । सदस्य पौडलले प्रदेश जिल्ला र स्थानिय तहलाई अधिकार दिएर पार्टीलाइ एकढिक्का बनाएर चुनौतीहरुको सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार १७:३३