हेटौँडा । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढ्न चाहेको बताएका छन् ।
मकवानपुर भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले भने, “मुलुकको विकास र समृद्धि नेपाली जनताको चाहना भएकाले यसलाई पूरा गर्नेतर्फ सरकार योजनाबद्ध ढङ्गबाट अगाडि बढिरहेको छ ।”
उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले समयसापेक्ष वैज्ञानिक शिक्षा नीति आजको आवश्यकता हो भन्दै सोहीअनुरुप सरकारले व्यावहारिक शिक्षा सबै स्थानीय तहमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको बताए ।
सामुदायिक विद्यालयभित्र देखिएका विभिन्न समस्या तथा चुनौतीलाई वर्तमान सरकारले अन्त्य गर्ने बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानमा सहयोग र सहकार्यमा गर्न सबैमा आग्रह गरे ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, राष्ट्रियसभा सदस्य रामनारायण विँडारी र रामचन्द्र राई, प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र जुनेली श्रेष्ठ, प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलागायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षा क्षेत्रको महत्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।
प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार ०७:२५