सुर्खेत । पश्चिम नेपालमै पहिलो पटक फिस्टुला रोग (महिलाहरुमा पिसाव चुहिने रोग) को उपचार गर्ने अस्पताल संचालनमा आएको छ । साइनिङ अस्पताल आईएनएफ सुर्खेत र मप क्षेत्रीय अस्पतालको समन्वयमा फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा पौने ६ करोडको लागतमा १७ शैयाको फिस्टुला अस्पताल शुक्रवारदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सो अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पताल सञ्चालनमा आएसँगै कर्णाली प्रदेश र प्रदेश नं ५ तथा ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुले शल्यक्रियासहितको निःशुल्क उपचार सेवा निरन्तर पाउनेछन् । सुर्खेतमा स्थापना गरिएको सो अस्पताल पाटन, काठमाडौंको मोडल अस्पताल र विपी कोइराला क्यान्सर प्रतिष्ठान धरानपछिको चौथो हो । फिस्टुला अस्पतालले पश्चिम नेपालकै फिस्टुला विरामीहरुको उपचार गर्ने अस्पतालका इन्चार्ज स्टाफ नर्स कृपा चौधरीले बताइन् । उनका अनुसार अस्पतालमा आउने विरामीलाई पूर्णरुपमा निःशुल्क उपचार गरिनेछ । ती विरामीहरु कुनै संक्रमण नभए कम्तीमा तीन सातासम्म बसेर उपचार गर्नुपर्ने स्टाफ नर्स चौधरीले बताइन् ।
अस्पताल संचालन हुनु अघि बर्षको एक पटक शिविर संचालन गरेर विरामीहरुको उपचार गर्ने गरिएको थियो । विगत १० बर्षदेखि सो शिविर सुर्खेतमा हुँदै आएको र अहिलेसम्म २५० भन्दा बढीको उपचार भइसकेको जानकारी साइनिङ अस्पताल आईएनएफ सुर्खेतका प्रमुख मंगल थारुले दिए । सुर्खेतमै फिस्टुला उपचारको अस्पताल संचालनमा आएपछि आफ्नै भवनबाट दैनिकरुपमा विषशेज्ञ सेवासहितको उपचार दिइने प्रमुख चौधरीले बताइन् । उनका अनुसार अस्पतालमा एक विदेशी विशेषज्ञ चिकित्सक डा. शेर्लीसहित १७ जना जनशक्ति कार्यरत रहेका छन् ।
मप क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क नभएको भन्दै अव सुर्खेतमै पूर्णरुपमा उपचार सेवा प्रदान गरिने उल्लेख गरे ।
सामाजिक विकास मन्त्री दल रावलले सो अस्पतालबाट पश्चिम नेपालका फिस्टुला रोगबाट ग्रसित महिलाहरुको पूर्णरुपमा निःशुल्क उपचार पाउने भएकोमा खुशी व्यक्त गरे । उनले प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
के हो फिस्टुला ?
बच्चा जन्माउँदा लामो प्रसव व्येथाका कारणले महिलाको पिसाब थैली र योनीद्वारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुला भनिन्छ । योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ । बच्चा जन्माउने व्यथा लामो हुँदा बच्चाको टाउको योनीमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनीमार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ । त्यस्तो प्वाल पिसाव थैली र योनीमार्गको बिचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाव चुहिरहन्छ ।
फिस्टुला भएका महिलाहरु दोहोरो तेहरो पीडा भोग्न बाध्य हुन्छन् । फिस्टुला लामो र कठिन प्रसव पीडाको कारणले हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाहरुको बच्चाको पनि नजन्मदै मृत्यु भइसकेको हुन्छ । फिस्टुला उपचारमार्फत निको हुने समस्या हो ।
प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १३:१२