सुर्खेत । नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा बुधबार कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर खुल्लामञ्चमा विशेष समारोहका साथ संविधान दिवस मनाएकाे छ । २०७२ साल साउन तीन गते तत्कालिन संविधानसभाबाट संविधान जारी भएको सम्झनामा आजको दिनलाई संविधान दिवसको रुपमा मनाइने गरिएको छ ।

समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विद्यार्थीलगायत विभिन्न पेशा व्यवसायका व्यक्तिहरूको उपस्थिति रहेको थियाे ।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघ/संस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियाे । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको संविधान दिवस मूल समारोह समितिमा उनी भने उपस्थित हुन सकेनन् । आजै चिन भ्रमणमा जाने कार्यतालिका भएकाले मुख्यमन्त्री उपस्थित नभएका हुन् ।
स्थानीय मंगलगढीचौकबाट शुरू भएको र्याली बजार परिक्रमा गरेर वीरेन्द्रनगरको खुलामञ्चमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२ र ६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो ।
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १७:५६