सुर्खेत । खसी–बोकाको बजार प्रवर्द्धनका लागि एकद्धार प्रणालीबाट विक्री वितरण गर्नुपर्ने भेरीगंगा नगरपालिकामा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले औल्याएका छन् ।
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पशु वस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना लागु भएको भेरीगंगा नगरपालिकाको मैनतडामा अवस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी संस्था, खसी व्यवसायी, कृषकहरु र जनप्रतिनिधिहरु बिच भएकाे अन्तरक्रिया कार्यक्रममा सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।
बिशेष गरी नेपालीहरुको महान पर्व विजय दशमी र दिपावलीलाई लक्षित गरी हरेक बर्ष खसी व्यवसायीहरुले निर्धारण गरेको बजार भाउमा विक्री वितरण गर्दा कृषहरु प्रत्येक्ष मारमा पर्ने भएको हुँदा यस बर्ष देखि सहकारीमा आबद्ध भएका सदस्यहरुले खसी विक्री गर्दा एकद्धार प्रणाली अन्तर्गत सहकारी मार्फत नै खसीहरु तौल गरी व्यवसायीहरुलाई विक्री गर्ने निर्णय समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा गरिएको निर्णयलाई लागु गर्न सकियो भने बजारमा हुने गरेको फरक मूल्य बृद्धिमा एकरुपता आउनुका साथै र कृषकहरु पनि प्रत्येक्ष लाभाविन्त हुने जानकारी परियोजनाका कार्यक्रम संयोजक पदमबहादुर दलामीले बताए ।
कार्यक्रममा भेरीगंगा ८ का वडा अध्यक्ष पदमबहादुर खत्रीले सहकारी मार्फत खसीहरु तौल गरी विक्री वितरण गर्ने कार्यलाई स्वागत गर्दै स्थानीय सरकारले गर्नु पर्ने काम संस्थाले शुरुवात गरिदिएकोमा धन्यवाद दिंदै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्रिवेणी सहकारी संस्थाकी अध्यक्ष छविकला वुढाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्मा, कृषक र खसी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी कृषक र खसी व्यवसायीहरुले आगामी दिनमा खसी विक्री वितरण गर्दा २० देखि २५ केजी सम्मका खसीलाई रु ३ सय ५०, २५ देखि ३० केजी सम्मका लाई ३५५, ३० देखि ३५ केजी सम्मकालाई ३६०रुपैयाँ, ३५ केजी देखि ४० केजी सम्मकालाई ३७० र सो भन्दा माथी तौलका खसीलाई ३८० रुपैया मूल्य कायम गरेका छन् ।
प्रकाशित मिति: ३१ भाद्र २०७५, आईतवार २०:१४