सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पार्टी विधिसम्मत चल्न नसकेको बताएका छन् । उनले नाम प्रजातान्त्रिक भएपनि शीर्ष नेतृत्वको काम र व्यवहार प्रजातान्त्रिक हुन नसकेको भन्दै विधिसम्मत चल्नुपर्नेमा जोड दिएका छन् ।

१०५ औं विपी जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस सुर्खेतले आइतवार बुलबुले उद्यानमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेसको चुनौती अरु नभइ आफै भएको टिप्पणीसमेत गरे ।
उनले यही पाराले कांग्रेस चल्न नसक्ने टिप्पणीसमेत गरे । पार्टीलाई विधिसम्मत चलाउन, गतिशील र चलायमान बनाउन आफूले प्रयत्न गरिरहेको दावी गर्दै नेता सिंहले भने, पार्टीलाई गतिशील बनाउन केन्द्रमा मैले पहल गरेको छु, जिल्ला जिल्लाबाट सवैले दवाव दिनुप¥यो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले वीपीलाई नाम अव भजाउन छोडेर पार्टी बनाउन लाग्न निर्देशन दिए । उनले वीपीको अनुयायी भन्ने, गुट उपगुटमा पार्टी चलाउने भनेर आक्रोश पोख्दै यसरी पार्टी नचल्ने उल्लेख गरे । उनले पार्टीले दुःख पाउँदा कार्यकर्ताले पनि दुःख पाएको हुँदा अव पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिए । उनले दुई कम्युनिष्ट पार्टी मिल्न लाग्दा पनि कांग्रेसको शीर्ष नेतृत्वले चाल नपाउनु दुःखद भएको भन्दै अहिलेको नेतृत्वले पार्टी झनझन धरासायी भएको आरोप लगाए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाही, कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेलले वीपीको मार्गदर्शन र सिद्धान्तहरुको अनुशरण गर्दै पार्टीलाई अगाडि बढाउन आव्हान गरेका थिए ।
प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार १७:१४