सुर्खेत । सुर्खेतमा कर सम्वन्धी काम गर्दै आएको करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालयमा परिणत भएको छ । यही भदौ १ गतेदेखि राजश्व कार्यालयमा परिणत भएको हो ।

कार्यालय प्रमुख यज्ञराज ढकालले विगतमा सीमित काम गर्दै आएको करदाता सेवा कार्यालय अव आन्तरिक राजश्व कार्यालयका रुपमा परिणत भएको जानकारी दिए । उद्योगी व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अव सुर्खेतलगायत यस प्रदेशका अन्य जिल्लाका उद्योगी व्यवसायीहरुको राजश्वसम्वन्धी सम्पूर्ण काम सुर्खेत कार्यालयबाटै हुने उनले बताए । विगतमा सुर्खेत बाहेक अन्य जिल्लाका व्यवसायीहरु राजश्व बुझाउन नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।
आन्तरिक राजश्व कार्यालयमा अपग्रेट भएसंगै जनशक्तिपनि थप भएको र कार्यालयको कामसंगै अव बाह्य अनुगमन र निरीक्षणका कामहरु थालिने प्रमुख ढकालले बताए । उनले भने, अव जनशक्ति पनि थप भएको छ, केही कर्मचारीले अफिसियल काम गरेपनि केहीले छड्के, अनुगमनजस्ता काम गर्न सकिन्छ ।
यसका साथै सो कार्यालयमा राजश्व बुझाउनेको संख्या पनि बढेको छभने करदाताहरु पनि थपिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा यसबर्ष करिव ४८ प्रतिशत राजश्व बृद्धि भएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७३-०७४ मा ३६ करोड ७१ लाख७० हजार २३६ रुपैयाँ राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०७४-०७५ मा बृद्धि भइ ५४ करोड ५७ लाख १७ हजार ७८१ रुपैयाँ पुगेको कार्यालय प्रमुख ढकालले बताए ।
कार्यालयले आर्थिक बर्ष २०७०-०७१ मा १० प्रतिशत, २०७२-०७३ मा २५ प्रतिशत र आर्थिक बर्ष ०७३-०७४ मा ३२ प्रतिशतले राजश्व संकलनमा बृद्धि गरेको थियो । जिल्लामा बढ्दो व्यवसायिकरण, नियमित बजार अनुगमन, कार्यालयले गरेका कर शिक्षाको सचेतना, करदातामा आएको कर सम्बन्धि जागरण, कार्यालयको प्रभावकारी सक्रियताको कारण राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको कार्यालय प्रमुख ढकालले बताए ।
कार्यालयले आयकर, बहालकर, व्याजकर, मु.अ कर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क, स्वास्थ्य सेवाशुल्क र विविध शीर्षकमा राजश्व संकलन गरेको हो । यस अवधिमा कार्यलयले सबैभन्दा बढी राजश्व आयकर शीर्षकमा रु. ३५ करोड ३२ लाख ४८ हजार संकलन गरेको छ । यसैगरी मूल्य अभिबृद्धि करमा १३ करोड ३६ लाख १६ हजार, बहाल करमा दुई करोड ७० लाख २७ हजार, ब्याजकरमा दुई करोड ४ लाख १३ हजार, अन्तशुल्कमा ६८ लाख १७ हजार, स्वास्थ्य सेवाशुल्कमा ४० लाख, शिक्षा सेवा शुल्कमा पाँच लाख ७७ हजार र अन्य शीर्षकमा १८ लाख राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
त्यतिमात्र होइन राजस्व संकलनमा बृद्धि संगै सुर्खेतमा हरेक बर्ष नयाँ करदाता थपिने क्रम पनि जारी छ । गएको आर्थिक बर्ष २०७४-०७५ मा आयकरमा १७२ जना, अन्त शुल्कमा ४२ जना, मूल्य अभिबृदि करमा १६ जना गरी नयाँ २३० जना करदाताथ पिएका छन् । यो संगै नियमित रुपमा कर तिर्ने करदाताको संख्या १६ हजार ६४ जना पुगेको कार्यालय प्रमुख ढकालले जानकारी दिए । उनले सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले पछिल्लो समय व्यापारिक चहलपहल बढेको, ठूलो उद्योग व्यवसायहरु खुल्ने क्रम थपिएकोले राजश्व बृद्धि हुने अपेक्षापनि गरे ।
प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार १४:४२