काठमाडौं । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् । उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी कार्य गर्न र त्यहाँ आर्य आर्जनको योजना बनाउन पनि सुझाव दिएका छन् ।
गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आयआर्जनका कार्यक्रमबारे प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय पदाधिकारीहरुसँग छलफलमा यस्तो सुझाव दिएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकोले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ ।”
ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि तयार रहेको पनि बताए ।
एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न एनआरएनए नेतृत्व कटिबद्ध रहेको बताए । उनले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टेसहितका पर्यटन प्रबद्र्धन, विभिन्न कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको जानकारी दिए ।
छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा. चन्द्र बहादुर श्रेष्ठ, एनआरएनका महासचिव डा. बद्री केसी, लाप्राक बस्ती पुनर्निर्माणका परियोजना निर्देशक सुभाष अधिकारीलगायतको पनि सहभागिता थियो ।
लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५७३ घरहरु निर्माण गरिरहेको छ ।
प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलवार १९:४५