सुर्खेत, सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिका वडा नं. ५ बावियाचौरमा प्रत्येक शनिवार हाटबजार लाग्ने गर्दछ । शनिवारे हाटबजारका रुपमा परिचित सो हाटबजारका सवै सामग्री स्थानीय र अर्गानिक उत्पादनहरु राख्ने गरिन्छ । गुन्द्रकुदेखि टिम्मुर, गाभादेखि तामा, केरादेखि खसीबोकासम्म सो हाटबजारका विक्रीवितरणका लागि राखिएका सामग्री हुन् ।

सुरुमा सानो बजार लाग्ने गरेपनि २०४९ सालदेखि हाटबजारको रुपमा व्यवस्थित गरिएको बताइन्छ । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले व्यवस्थित भएपछि हाटबजारको महत्व बढ्दै गएको र भीड पनि विगतको तुलनामा बृद्धि भएको दावी गर्छन् । उनले यस हाटबजारमा विक्रीवितरणका ल्याउने सम्पूर्ण उत्पादन स्थानीय र अर्गानिक भएको बताए ।
आ आफ्नो घरमा उत्पादन गरिएका सामग्रीहरु बढी भएपछि सोही हाटबजारमा ल्याएर विक्री गर्ने गरिन्छ । स्थानीय र अर्गानिक उत्पादन भएका कारण खरिदका लागि सदरमुकाम वीरेन्द्रनगर, कैलालीको चिसापानी, लम्की र अछामसम्मका बासिन्दाहरु हाटबजारमा आउने गरेको नगरप्रमुख थापाले बताए । त्यतिमात्र होइन त्यहाँका स्थानीय जातका खसीबोका खरिद गर्न त पोखरा, काठमाडौं र बुटवलका व्यापारीसहरुसमेत आउने गरेका छन् ।
स्थानीय र अर्गानिक उत्पादनका कारण हाटबजारमा प्रत्येक शनिवार झण्डै ६० हजारको कारोबार हुने गरेको छ । खसीबोकाको खरिदविक्री भएमा कारोबार पनि बढेर करिव डेढ लाखसम्म पुग्ने जानकारी नगरप्रमुख थापाले दिए । उनले हाटबजारलाई अव हप्ताको दुई दिन लगाउने तयारी गरिरहेको बताए । शनिवार र मंगलवार हाटबजार लगाउँदा स्थानीय र अर्गानिक उत्पादनको विक्रीवितरण तथा बजारीकरण हुने भएकोले नगरपालिकाले त्यसको तयारी गरिरहेको नगर प्रमुख थापाले जनाए ।
सदरमुकामदेखि हाटबजार पुगेकाहरुको रोजाई स्थानीय र अर्गानिक नै हुने गरेको छ । गुन्द्रुक, टिम्मुर, गाभा, तामा, सागपातमा खरिदकर्ताहरुको बढी भीड लाग्ने गरेको छ । प्रत्येक साता लाग्ने सो हाटबजार सदरमुकाम वीरेन्द्रनगरदेखि ५२ किमी टाढा भएका कारण पर्याप्तमात्रामा प्रचारप्रसार हुन सकेको छैन । हाटबजारलाई थप प्रचारप्रसार गराउने योजना रहेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार १४:१०