सुर्खेत । वीरेन्द्रनगर १० बेलघारीमा रहेको बधशालाको फोहोरबाट त्यहाँका मुश्लिम बस्तीका झण्डै एक दर्जन घरमा ग्याँस पुगेको छ । १०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट त्यहाँका नौ घरमा गतबर्षको पुसदेखि ग्याँस पुगेको हो । त्यही ग्याँसबाट त्यहाँका मुश्लिम परिवारले खाना, खाजा र कुँडो पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरेका छन् ।

केपी व्यवसायिक सेवा प्रालिले नेपालमै त्यही नै सवैभन्दा ठूलो र पहिलो सामुदायिक बायोग्यास निर्माण भएको दावी गरेको छ । प्रालि का प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले १०० घनमिटरको बायोग्यासबाट अहिले करिव एक दर्जन परिवारले ग्यास उपभोग गरेको भन्दै त्यसको क्षमता अझ बढाइने बताएका छन् । बधशालामा बध गरिएका राँगाको मलमूत्रबाट उत्पादन भएको ग्यासका कारण बजारका एलपी ग्याँस सिलिण्डर विस्थापित भएको परिवारहरु बताउँछन् ।
घरघरमा ग्याँस प्रयोग गरेवापत प्रति परिवार रु. ५०० शुल्क लिने गरिएको छ । १०० घनमिटरको बायोग्यास प्लान्टको क्षमता २५ घरपरिवारसम्मलाई खाना पकाउन मिल्ने बताइन्छ । बधशालाको फोहोरबाट उत्पादन भएको ग्याँस एकातिर खाना पकाउन प्रयोग गरिएको छभने अर्कोतिर कम्पोष्ट मल विक्री गर्ने तयारीपनि भइरहेको छ ।
ग्याँस प्रयोग गरेवापत मुश्लिम परिवारले बेलघारी सामुदायिक बायोग्यास उपभोक्ता समितिलाई शुल्क तिर्ने गरेका छन् । मासिक उठाएको शुल्क कोषमा राखेर मर्मत सम्भारमा खर्च गर्ने गरिएको समितिका अध्यक्ष धर्मराज विकले बताए । बधशालाको फोहोरबाट ग्याँस उत्पादन भएपछि त्यहाँका उपभोक्ताहरुले बजारको एलपी ग्याँस सिलिण्डर विस्थापित गरेको उनले जनाए । उनका अनुसार ती नौ घरपरिवारले एलपी ग्याँस सिलिण्डर फिर्ता गरिसकेका छन् ।
बधशालाको फोहोरबाट उत्पादन गरिएको ग्याँसबाट चौवीसै घन्टा खाना खाजा र कुँडो पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरिएको अध्यक्ष विकले जनाए । उनले मासिक ५०० रुपैयाँ शुल्कमा महिनाभर पर्याप्तमात्रामा खाना खाजा पकाउन र बत्ती बाल्न पाइने भएको भन्दै एलपी ग्याँस ठूलो परिवारमा मासिक एकदेखि दुई वटा खपत हुने र सोको खर्च तीन हजारसम्म पर्ने उल्लेख गरे ।
दैनिक पाँच वटा राँगा काटिने सो वधशालामा दैनिक एक क्वीन्टल फोहोर संकलन हुने गरेको छ । सो वधशालाबाट उत्पादन गरिएको ग्याँसले बजारिया ग्याँसलाई विस्थापित गर्न सफल भएको भन्दै अध्यक्ष विकले त्यसको मल पनि विक्री गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अहिलेसम्म सो बधशालाबाट करिव २०० सिलिण्डर ग्यास उत्पादन भइसकेको छ ।
वधशाला निर्माणमा अहिलेसम्म २८ लाख खर्च भइसकेको र सरकारी अनुदान अहिलेसम्म प्राप्त नभएको गुनासो अध्यक्ष विकले गरे । बधशालामा २५ जनाले रोजगारी पाएका छन् । बधशालामा रहेको बायोग्यास प्लान नेपालकै पहिलो सामुदायिक बायोग्यास प्लान्ट भएकोले कर्णाली प्रदेशमा बनाउन चाहेमा उत्पादनको मात्रा हेरी २० हजारदेखि २७ हजारसम्म अनुदानको व्यवस्था छ । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्याँस पु¥याउने नीति सुर्खेतको बेलघारीको बायोग्यास प्लान्टले पनि पूरा गरेको उल्लेख गरे ।
६ घनमिटरको प्लान्टमा २७ हजार, चार घनमिटरकोमा २५ हजार, दुई घनमिटरकोमा २० हजार र १२.५ घनमिटरभन्दा माथिकोमा उत्पादन मात्राको आधारमा २० हजारदेखि माथिसम्म अनुदान पाइने केपी व्यवसायिक सेवा प्रालिका प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले बताए ।
प्रकाशित मिति: ७ भाद्र २०७५, बिहीबार १५:४७