सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशका दश जिल्लामा कुपोषणको उच्च जोखिम देखिएको छ । राष्ट्रिय दर ३६ भएपनि यस प्रदेशमा ५४ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेका छन् ।

कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटका जयबहादुर परियारले छोरीलाई कुपोषण भएपछि उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा ल्याएका छन् । उमेर अनुसार छोरीको तौल बृद्धि हुनको साटो घट्न थालेपछि उनले छोरीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा ल्याएका हुन । आर्थिक अवस्था निकै कमजोर रहेका उनले खेतीपातीबाट भित्रिने खाद्यान्नले मुस्किलले तीन महिना धान्ने र बाँकी समय भारी बोकेर गुजारा गर्छन् । पौष्टिक आहारा दिन नसक्दा छोरीलाई कुपोषण भएको उनको भनाइ छ ।

पोषिलो हुने स्थानीय खाद्यान्नको उत्पादन नै घट्नु, हरियो तरकारी नखाने चलन र बालबालिकालाई सरकारी चामलको भात खुवाउने बानीले कुपोषणको दर निकै डरलाग्दो भएको बालरोग बिशेषज्ञ डा.नवराज केसीले बताए । उनका अनुसार कर्णालीमा कुपोषणको समस्या हुनुको मुख्य कारण पोषिलो खानाको अभाव नै हो । अर्कोतर्फ पोषणयुक्त खानामा ध्यान नदिनु, सरसफाइमा कमी र जनचेतनाको अभावका कारण पनि बालबालिका कुपोषणको शिकार हुने गरेको डा.केसीले बताए ।
कर्णाली प्रदेशमा प्रत्येक वर्ष कुपोषण भएका बालबालिका बढ्दै गएका छन् । पोषणको कमिले ५४ प्रतिशत बालबालिका होचापुड्का हुने, साढे सात प्रतिशतमा ख्याउटेपन हुने, ६ महिनादेखि ५९ महिनाका ३४ प्रतिशत बच्चामा रक्तअल्पता हुने, ३४ प्रतिशत प्रजनन् उमेर समुहका महिलामा रक्त अल्पता हुने र उमेर अनुसार कम तौल भएका बालबालिकाको ३५ प्रतिशत रहेको तथ्याङ्क छ ।
पोषण कार्यक्रम सुर्खेतका स्टाफ नर्स अनिता ढकालले सुर्खेत भ्यालीभित्रैै ५० प्रतिशत कुपोषित बच्चाहरु रहेको जानकारी दिइन् । सरकारले थोरै बजेट पठाउने गरेका कारण कुपोषित बच्चाहरुलाई भनेजस्तो सेवा सुविधा दिन नसकेको उनले बताइन् ।
सुहारा कार्यक्रम सुर्खेतका संयोजक राजेन्द्र अधिकारीले कर्णाली प्रदेशमा धेरैजसो स्थानमा बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुपर्छ भन्ने चेतना नभएकाे बताए । उनका अनुसार पोषणयुक्त खानेकुरा बारे चेतना अभाव, दयनीय आर्थिक अवस्था र खाद्य संकटका कारण कर्णालीमा कुपोषणको समस्या अहिले पनि प्रमुख स्वास्थ्य समस्याकै रुपमा रहेको हो ।
प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार १५:२५