सुर्खेत, ३१ साउन । २०७१ सालमा आएको बाढीका कारण उर्लेको भेरीले सम्पर्क विच्छेद बनाएको पश्चिम सुर्खेतका बासिन्दालाई पंचपुरी नगरपालिका वडा नं. ५ को बावियाचौर र १० जामु जोड्ने भेरी पुलले पुनः नजिक ल्याउने भएकाे छ । भेरीमा आएको बाढीले त्यसबेलाको झोलुंगे पुल नै बगाएपछि साविकका तातापानी र घाटगाउँका बासिन्दाहरुसंग सहज आवागमन विच्छेद भएको थियो ।

भेरी घटेको बेला डुंगाबाट आउजाउ हुने गरेपनि भेरी बढ्दा आवागमन विच्छेद हुने गरेको थियो । तर अहिले जामुको भेरी नदीमा ३५० मिटर लामो पक्की पुल निर्माण हुन लागेपछि त्यस क्षेत्रका सयौं बासिन्दालाई नगरपालिका तथा सदरमुकामसंग नजिक ल्याउन सहज बनाउनेछ । सो पुलको काम अन्तिम चरणमा पुगेको र आगामी भदौ महिनादेखि संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।
२०७२ साल माघदेखि पुल निर्माणको काम थालिएको हो । अनक—लुम्बिनी—हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको सो पुलको काम करिव ९० प्रतिशत सकिएको जानकारी कम्पनीका प्रतिनिधि ओभरसियर विनोद पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी काम पनि जतिसक्यो छिटो सकेर भदौदेखि आउजाउ खुला गराउने लक्ष्य छ । सो पुलको लागत एक अर्ब बढीको भएको बताइन्छ ।
पुल निर्माणको काममात्र होइन, पुल वारि पारि ४२५ मिटर तटवन्धको काम पनि निर्माण कम्पनीको जिम्मामा छ । ओभरसियर पाण्डेका अनुसार पुल सुरक्षित बनाउन पुलको वारि पारि ४२५ मिटरसम्म तटवन्धसमेत गरिनेछ । पुल बनाउने अवधि पाँच बर्षको भएपनि तोकिएभन्दा छिटै पुल निर्माण गरिसक्ने उनले बताए । करिव साढे दुई बर्षको अवधिमा कम्पनीले पुल निर्माण गरिसक्नेछ ।
सोही कम्पनीले भेरी नदीको अन्य तीन ठाउँमा पनि त्यस्तै पुल निर्माणको काम सुरु गरेको छ । पंचपुरी नगरपालिकाको कैलाली जोड्ने कुइने कचालीघाट पुल, घाटगाउँ तातापानी पुल र चिप्ले पुलको काम सुरु गरिएको ओभरसियर पाण्डेले बताए ।
पंचपुरी नगरपालिका वडा नं. २ का स्थानीय तिलकराम अधिकारीले बाढीबाट विनाश भएको सो क्षेत्रमा पुलले विकास ल्याउने दावी गरे । भेरी नदीको अहिलेसम्मकै सवैभन्दा लामो पक्की पुल भएकोले यसले आन्तरिक पर्यटकलाई पनि बढावा दिने उनको ठम्याई छ । बाढीले पुल बगाएपछि साविक तातापानी, घाटगाउँका बासिन्दाहरु ढुंगा तरेर आउनुपर्ने बाध्यता थियो । तर अव पुल संचालनमा आएमा यातायात सेवासमेत संचालन हुनेछ ।
प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहीबार १२:४६