काठमाडौं, २५ साउन । टनेल बोरिङ मेशिनद्वारा नेपालमा पहिलो पटक निर्माण थालिएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम आधा भन्दा बढी सम्पन्न भएको छ । आयोजनाको अप्ठ्यारो भनिएको भाग टोली खोला खण्डमा समेत सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
आयोजनाको कुल १२ किलोमिटर शुरुङ मध्ये मध्य भागमा अप्ठ्यारो भएको भाग समेत पार भइसकेको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिएका छन् । उनले भने, ‘आयोजना निर्माणमा जुन भाग अप्ठ्रयारो छ भनेर सोचिएको थियो, त्यो समेत पार गरियो ।’
१२ किलोमिटर सुरुङ निर्माण गर्नु पर्ने आयोजनामा साउन २५ गते सम्ममा ६ किलोमिटर ७ सय मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक बस्नेतले जानकारी दिए । उनले अहिलेको अवस्थामा महिनामा सात सय मिटर सुरुङ खन्ने काम सम्पन्न भएको बताए ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ५ किलोमिटर ३ सय मिटर मात्रै बांकी भएको हुनाले अहिलेकै रफतारमा काम भए अबको साढे सात महिनामा पुरा हुने अनुमान गरिएको छ ।
सुरुङ निर्माणकै अवधिमा ड्याम र विधुत गृह समेत निर्माण गर्ने योजना अनुरुप ड्याम र विधुत गृह डिजाइन गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका निर्देशक बस्नेतले जनाएका छन् ।
४ जुन, २०१५ मा भएको ठेक्का सम्झौता बमोजिम निर्माण कम्पनीले ४ वर्ष १० महिना अर्थात सन् २०२० अप्रिल ३ मा सुरुङ निर्माणको काम सम्पन्न गर्ने समय तालिका आयोजनालाई उपलब्ध गराएको थियो ।
भेरी बबईको सुरुङ निर्माण गर्न गरिएको ठेक्कामा चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडले चार वर्ष १० महिनामा निर्माण गर्ने गरी १० अर्ब ५६ करोडको लागतमा १२ किलोमिटर सुरुङ निर्माणको सम्झौता गरेको थियो ।
सुरुङ निर्माणका लागि करिब साढे १० अर्ब रुपैयाँमा ठेक्का भएको र ड्याम तथा विधुत गृह निर्माण गर्न थप १२ अर्ब अति लाग्ने अनुमान गरिएको छ । आयोजनामा गत असारसम्म साढे ४ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजना निर्देशक बस्नेतले जानकारी दिएका छन् ।
सुर्खेतको लेकफर्सा चिप्लले स्थित भेरी नदीमा ड्याम बाँधेर सुरुङबाट ल्याएको पानी हात्तीखालमा निर्माण हुने विद्युतगृहमा खसालेर ४८ मेगावाट विधुत उत्पादन हुने आयोजनाबाट बाँके र बर्दियाको ५१ ह्जार हेक्टर जमिनमा सिंचाई सुविधा पुगी वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार १२:१६