काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले संघीयतामा पहिचान भेटिने द्वन्द्व मेटिने भन्ने सिद्धान्त नै बनाएको बताएका छन् । उनले नेपाल बहुजातीय बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले कांग्रेसले संघीयतामा सवैको पहिचानका लागि पहिचान भेटिने आपसी द्वन्द्व मेटिने भन्ने सिद्धान्त तय गरेको बताए ।
२४ विश्व आदीवासी दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले आदीवासी जनजातीहरुको हक अधिकारका लागि धेरै काम गरेको दावी गरे । उनले भने, ‘कम्युनिष्टहरुका जस्तो भाषण र नारा लगाउदै मात्रै कांग्रेस हिडेको छैन् । नेपाली कांग्रेसका पालामा आदीवासी जनजाती उत्थान प्रतिष्ठानको स्थापना समेत गरेको छ ।’ उनले भने, ‘अनि कांग्रेसले नै आदीवासी जनजातीका माग सम्बोधन गर्नका लागि मैले नै २० बुँदे संझौता गरेको हो ।’
कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘हामीले नारा मात्रै लगाएका छैनौ काम पनि गरेको छौ । तर जातीय राज्य र आदीवासी जनजातीको पक्षमा चर्का नारा लगाउने प्रचण्ड र केपी ओली जी अहिले एउटै पार्टीमा हुनुहुन्छ । उहाँहरु चर्का चर्का नारा लगाउनु हुन्छ तर काम गर्नुहुन्न । हिजोका नारालाई आज के गर्नुहुन्छ हामी अहिले हरिरहेका छौ ।’
कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले कहिल्यै ढोंङको राजनीति गरेन् । आम जनतामा टिका बहिष्कारको आन्दोलन गर्ने अनि सवै भन्दा पहिले राजाको हातबाट टिका थाप्न जाने । मधेसमा सवैभन्दा ठुलो शत्रु केपी ओली हुने अनि सत्तामा केपी ओलीसंग घाँटी जोड्ने, यी सवै ढोंङ हुन । यस्तै प्रवृतिले गर्दा जनजाती आन्दोलन, मधेसको आन्दोलन पछि परेको हो ।’
२००७ सालको आन्दोलन देखि नै कांग्रेसले समानताको आन्दोलन गरेको बताउँदै कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘हलो जोतेर २००७ सालको आन्दोलन सुरु भएको हो । जातिपाती नमानेर २००७ सालको आन्दोलन सुरु भएको हो । छोइछिटोको अन्त्यका लागि २००७ सालको आन्दोलन भएको हो । त्यही अधिकारी प्राप्तीको आन्दोलन त्यही समानताको आन्दोलन कांग्रेसले सुरुवात गरेको हो ।’
आदीवासी जनजाती, मधेसी, महिला लगायत सवै अधिकारका आन्दोलन प्रजातन्त्रमा मुखरित हुने गरेको बताउँदै कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘पंचायतकाल भरि यी अधिकारका आन्दोलन मुखरित हुन सकेनन् । प्रजातन्त्र आएपछि अधिकारका आन्दोलन मुखरित भएका हुन् । अधिकारको आन्दोलन भनेको नै स्वतन्त्रता र समानताको आन्दोलन हो ।’
प्रकाशित मिति: २४ श्रावण २०७५, बिहीबार १९:४५