सुर्खेत, २४ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सार्वजनिक स्थानहरुमा शौचालय नहुँदा सर्वसाधारणहरुले निकै नै सास्ती खेप्नु परेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सार्वजनिक शौचालयको समस्या देखिएपछि वीरेन्द्रनगर नगरपालिकाले झण्डै तीन लाखमा एउटा घुम्ती शौचालयको व्यवस्था गरेको थियो । तर केहि समयमै घुम्ती शौचालय जिर्ण बनेपछि नगरपालिकामै थान्किएको छ । घुम्ती शौचालय थन्किएपछि वीरेन्द्रनगरमा कतै पनि सावर्जनिक शौचालयको व्यवस्थापन गरिएको छैन । मानिसको अत्याधिक चाप हुने स्थानिय बसपार्कमा शौचालय नभएपछि यात्रूहरु छेउछाउका होटलहरुमा जाने गरेका छन् ।
जुनिचाँदे गउँपालिका जाजरकोटका शिशिर विष्टले कर्णाली प्रदेशको राजधानी भइसक्दापनि वीरेन्द्रनगरका कुनैपनि स्थानहरुमा सार्वजनिक शौचालय नहुँदा निकै समस्या खेप्नु परेको बताउँछन् । वीरेन्द्रनगर बजारमा आउँदा दिशा, पिशाब लाग्दा होटेलमा जानु पर्ने बाध्यता रहेको उनी सुनाउँछन् । प्रदेश सरकारले वीरेन्द्रनगरमा सार्वजनिक शौचालयको व्यवस्था गरेको खण्डमा आफुहरुलाई सहजता हुने शिशिर विष्टले बताए ।
सुर्खेतका गाउँवस्तीबाट किनमेल गर्न आउने स्थानियले शौचालयका बारेमा सोधे व्यवसायीले छैन भन्नेभन्दा अर्को विकल्प देखिदैन ।

वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका पुर्ण ओलीले कतिपय ग्राहकलाई शौचालय हुँदा पनि छैन भनेर पठाउने गरेको बताए । उनले भने ‘पसलमा आएका सबै ग्राहकलाई शौचालयमा पठाउँन सक्दैनौ, कोही ग्राहकलाई पठाएपनि घरबेटीले कुरा सुनाउँछन् ।’
कतिपय ग्राहकलाई शौचालय पठाउँदा घरबेटीको भनाई सुन्नुपर्ने व्यवसायी ओली बताउँछन् । उनले प्रदेश सरकारले सार्वजनिक शौचालयको व्यवस्था गरे ग्राहकलाई पठाउन सजिलो हुने बताए ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण खड्काले वीरन्द्रनगरका तीन स्थानमा सार्वजनिक शौचालय बनाएको बताएका छन् । उनका अनुसार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय नजिक, हटिया चाेक नजिक र मंगलगढि चोक नजिक सार्वजनिक शौचालय बनाएको छ । कार्यकारी अधिकृत खड्काले राजधानीका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने योजना भएपनि उपयुक्त ठाउँ नभएकाले बजेट विनियोजन नगरिएको बताए ।
सार्वजनिक शौचालयको आवश्यकता महशुस गरेको स्थानिय निकायलाई नत शौचालय आवश्यक छ नत त्यसप्रति चासो नै दिनु परेको छ । सार्वजनिक शौचालयको आवश्यकता भनेको गाउँवस्तीबाट आउने स्थानियलाई मात्रै छ ।
प्रकाशित मिति: २४ श्रावण २०७५, बिहीबार १४:००