सुर्खेत, २१ साउन । समाज विकासको काम अहिले स्थानीय तहलगायतले गर्ने हो तर सुर्खेतमा भने एउटा सामुदायिक वन समूहले आफ्नो समाजको विकासको सवै काम गरिदिएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५ बड्डीचौरको रुइनियाडाँडा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो गाउँको धेरैजसो विकास गरेको हो ।

गाउँमा उज्यालोका लागि सोलार, खानेपानी निर्माण, विद्यालयलाई सहयोग, आयआर्जनका लागि सिलाइकटाईलगायतका विकासे तालिमहरु सो वन समूहले गर्दै आएको छ । बड्डीचौर बजारलगायत गाउँमा करिव २३ लाखको लागतमा २० वटा सोलार पोल जडान गरिएको छ । सो सोलारले अहिले बजार र गाउँको सडक झिलिमिली भएको छ । खानेपानीको दुःख भएपछि पाँच लाखको लागतमा खानेपानी आयोजना बनाउँदैछ । दुई वटा विद्यालयलाई सात लाख सहयोग गरेको छ । आप्mना महिला उपभोक्ताहरुलाई आयआर्जनका लागि सिलाइकटाइ तालिम दिएको छ । दुई लाखको घुम्ती कोष स्थापना गरेर आयआर्जनमा सघाइरहेको छ भने स्थानीयहरुलाई रोजगारी पनि दिएको छ । त्यतिमात्र नभएर २५ लाखको लागतमा आफ्नै भवन पनि निर्माण गरेको छ । वनको आम्दानी सामाजिक विकासमा लगाउँदा वन समूह नै विकासकर्ता बनेको छ ।
सो वन समूहले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेपछि वन संरक्षणसंग पुराना काठहरु कटान गरेर आम्दानी गर्न सफल भएको छ । यस बर्ष सो वन समूहले सवा एक करोड बढी आम्दानी गर्न सफल भएको थियो । ११ हजार क्युफिट विक्री गरेको थियो । वन समूहका अध्यक्ष कविराज डम्मरपाल मगरले वन संरक्षणको साथै पुराना र बुढा रुखहरु काटी विक्री गरेर भएको आम्दानीबाट गाउँसमाजको विकास गरिएको बताउँछन् । दुई बर्ष अघि सो वन समूहले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको हो ।
कूल २३८ हेक्टर क्षेत्रफल भएको सो वनलाई आठ व्लकमा बाँडेर २७.८५ हेक्टरको दरले बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ । एउटा व्लकमा १० बर्षको दरले ८० बर्षमा सवै हेक्टरमा सो कार्यक्रम लागू भइसक्नेछ । बैज्ञानिक बन व्यवस्थापनबाट पुराना र बुढा रुखहरु काटेर विक्री गरी आम्दानी गर्न सकिने र त्यसबाट नयाँ विरुवा जागेर चाहेजस्तो बनाउन सकिने फाइदा भएको अध्यक्ष डम्मरपालले बताए । उनले कार्ययोजनाको परिधिभित्र रहेर वनको आम्दानी समाजको विकासमा लगाउने गरेको जनाए ।
यता जिल्ला वन कार्यालय सुर्खेतले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेका वन समूहहरुको प्रगति भएको जनाउँछ । जिल्ला वन अधिकृत हेमराज विष्टले सुर्खेतमा १९ वटा वनमा बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम लागू भएको र तिनीहरुको प्रगति सन्तोषजनक रहेको बताउँछन् । सुरुमा कार्यक्रमको विरोध भएपनि अहिले बर्षेनी आधा दर्जन निवेदन कार्यक्रम लागू गर्नका लागि आएको जानकारी दिदैं उनले तर सवैमा लागू गर्न नसकिएको उल्लेख गरे । वनको आम्दानीबाट समूहहरु आर्थिक रुपमा सवल भएको र आफ्नो गाउँठाउँको विकास पनि गर्न सकेको उनको भनाइ छ ।
जिल्ला वन अधिकृत विष्टले बार्षिक सात लाख क्युफिट काठ विदेशबाट नेपाल भित्रिएको र नेपाली पूँजी बाहिर गएको कारण सरकारले मुलुकमै काठको खपत गर्न तथा पूँजी बाहिर जान नदिन बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम संचालन गरेको जानकारी दिए । बुढा रुखहरु काटिने, नयाँ पलाउने, समूहले आर्थिक आम्दानी गर्ने, स्थानीय रोजगार प्राप्त हुने, घाँस दाउराको दुःख नहुने, स्थानीय विकास हुनेजस्ता थुप्रै फाइदा बैज्ञानिक वन व्यवस्थापनको रहेको दावी उनको छ ।
प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार १६:१६