सुर्खेत, १५ साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । सरकारलाई खबरदारी गर्नका लागि कांग्रेसले देशभर विरोध प्रर्दशन गरेको उनले बताए ।
नेपाली कांग्रेस सुर्खेतले मंगलबार निकालेको र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन । उनले भने ’प्रधानमन्त्री ओलीलाई सच्चिओस् भनेर देशभर सांकेतिक विरोध कार्यक्रम हो ।’ओली सरकार नसच्चिए निर्णायक आन्दोलन गर्ने नेता थानीले चेतावानी दिए ।
नेता थानीले संवैधानिक रुपमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक मान्यताको उल्लंघन गर्दै सरकार मनपरी रुपमा अगाडी बढेको आरोप बताए । महंगी भ्रष्टाचार र कालोबजारी बढ्दै गएको भन्दै यसप्रति सरकार मुखदर्शक भएर बसेको उनले आरोप लगाए । प्रजातन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्ने भन्दै कम्युनिष्ट सरकारले प्रजातन्त्रको कहिले पनि रक्षा गर्न नसक्ने नेता थानीले बताए । जनताको आवश्यकता र समस्याप्रति सरकार उदासिन भएको भन्दै अब काँग्रेस सडक र सदनमा कडा रुपमा प्रस्तुत हुने नेता थानीको भनाई छ ।
कांग्रेस सुर्खेतका कार्यवाहक सभापति कमलराज रेग्मीको नेतृत्वमा सुरु भएको विरोध र्यालीमा पुर्वसंञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टसमेत सहभागी थिए ।
पुर्वसंञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले जनताको लोकतान्त्रिक अधिकार माथि सरकारले धावा बोलेको आरोप लगाए । उनले सरकार अधिनायकवाद तर्फ अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख एंवम नगरसभापती देवकुमार सुबेदी, महिला संघका अध्यक्ष पार्वती गीरीलगायतले सरकारले दुई तिहाइको आडमा सरकार निरंकुश ढंगले अघि बढेको आरोप लगाए ।
नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली मंगलगडीचोक हुँदै बजार परिक्रमा गरी पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको हो ।
प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार १७:००