काठमाडौं, १५ साउन । रामेछापकी लिला भण्डारी हरेक विहान घट्टेकुलो चोकमा जमराको जुस विक्री गर्नमा वित्ने गर्दछ । एक महिनाको तालिम लिएर घरबाटै जमराको जुस विक्री गर्ने उनी एक साता यता घट्टेकुलो चोकमा आएर जमराको जुस विक्री गर्न थालेकी हुन् ।
काठमाडौको घट्टेकुला चोकमा बिहानै गहुँ र जौका जमराको मुठो अनी जमरा पेल्ने सानो हाते मेशिनका साथ उनी विहानै घट्टेकुलो चोकमा बस्ने गरकी उनले दैनिक सात आठ जनालाई जमराको जुस विक्री गर्ने बताउँछिन् । थाइराडको समस्याबाट पीडित उनी आफुले प्रयोग गर्दा गर्दै अरुलाई पनि खुवाउने अभियानमा लागेकी हुन् । खालीपेटमा जमराको जुस खाएपछि स्वास्थ्यलाई धेरै फाइदा हुने उनको भनाई छ ।
बिहान मर्निङ वाक गर्न निस्केकाहरुलाई लक्ष्यित गर्दै उनले बिहानको समयलाई उपयोग गर्दै छिन् ।
गहुँ र जौका जमरा लिएर घट्टेकुलो चोकमा भेटिएकी उनीसंग जमराको जुस माग्दा ‘तपाईलाई के समस्या छ ?’ भनेर सोध्ने अनि त्यही अनुसारको जुस बनाएर दिने गरेकी छिन् ।
‘केही नभएकाले सधै खाने हो भने त झनै राम्रो हो । तर सुगर, प्रेसर, क्यान्सरका विरामीहरुलाई फाइदा गर्छ भनेर बेच्ने गर्छु । मैले तालिममा धेरै विरामीहरुले खाएको, उनीहरुलाई राम्रो गरेको देखे, कसरी खानु पर्दो रहेछ भन्ने सिके अनी त्यही अनुसार अहिले दिने गरेकी छु । तपाई पहिलो पटक आउनु भएको छ, गहुँको जुस खानुस् ।’ उनले भनिन् ।
‘पहिलो पटकलाई किन गहुँको जुस ?’ यो जिज्ञासामा उनले भनिन्, ‘जौको भन्दा गहुँको जुस मिठो हुन्छ, तपाईलाई मिठोबाट बानी पारु भनेर नी ।’
प्रेसर लो हुनेलाई उनले गहुँको जमराको जुस खुवाउछिन्, प्रेसर हाई हुनेलाई जौको जमराको जुस खुवाउछिन् । क्यान्सरका विरामीहरुलाई पनि अबस्था हेरेर गहुँ र जौंको मात्रा मिलाउछिन् ।
महिनामा ८ किलोसम्म गहुँ र जौको विउ आफ्नै कोठामा छर्छिन् लिलाले । एक पटक छरेको बिउवाट ९, १० दिनमा जमरा तयार हुन्छ । लिलाको घरवाटै पनि जुस बिक्रि हुन्छ र चोकवाट पनि । ‘दुबै ठाँउवाट गरेर ८ जना जति नियमित ग्राहक हुनुहुन्छ, भर्खर शुरु गरेकी छु, पछि एक्लैले सबैलाई पुराउन सक्ने हो कि नाई भन्ने लागेको छ ।’
जमराको जुस खाएर आफ्नो स्वास्थ्यमा सुधार भएको बताउने लिलाको पछिल्लो समयमा फेरिएको जीवनशैलीले उनलाई मात्र होइन, अन्य बिरामीलाई पनि सन्तुष्टी दिएको छ, र स्वस्थ्य प्रति सचेतना बढाएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार ०९:०४