सुर्खेत १३ साउन । सुर्खेतको पूर्वी क्षेत्र सिम्ता गाउँपालिकाका वडा नं. ५ र ८ का बासिन्दा सिम्ता खोला वारपार गर्न पुल बन्दा जति खुसी हुनुपर्ने हो, अहिले त्यति हुनसकेका छैनन् । किनकि सडकका लागि केही स्थानीयले जग्गा नदिएपछि त्यो पुलको उपयोग हुन सकेको छैन ।
साढे पाँच करोडको लागतमा करिव ६३ मिटर लामो पुल निर्माण भइसकेको छ । वडा नं. ५ को आलीदेखि जुम्लेअम्राईसम्म पुग्ने सडकमा केही स्थानीयले जग्गा नदिएपछि सडक अलपत्र अवस्थामा छ ।
खोलामा पुल बनेपनि सडक पुर्ण रुपले नबन्दा त्यसक्षेत्रका नागरिकहरुले त्यो पुलबाट आवतजावत गर्न सकेका छैनन् ।
उनीहरु अहिले साहुखोला, काप्रीचौर हुँदै गोजीबजार झर्ने गरेका छन् । ६२.९५ मिटर लामो पुलले दुई वडालाई जोड्ने काम गर्छ तर सडक पूरा नहुँदा झण्डै पाँच किलोमिटर टाढाको बाटो हिंड्न त्यहाका स्थानीय बाध्य भएका छन् । त्यहाँका स्थानीय शर्माकुमार रानाले गाउँमा विकास आउँदा पनि त्यसको चाल नपाउनेहरुले गर्दा स्थानीयहरुले दुःख पाएको बताउँछन् । पुल बनेपछि वारपार गर्न सहज होला भन्ने आशामा बसेपनि बाटो अलपत्र बन्दा सवैले सास्ती पाइरहेकाे उनको भनाइ छ ।
पुलबाट अगाडि जाने सडकका लागि केही व्यक्तिले जग्गा उपलव्ध नगराएका कारण सडकको कामपनि अलपत्र अवस्थामा रहेको अर्का स्थानीय रेशम रानाले बताए । पुल बनेपनि सडक नबन्दा विकासको अनुभूति गर्न नपाएको उनको अनुभव छ । उनले सडक निर्माणका लागि गाँउपालिकाले पनि त्यति चासो नदेखाएको आरोप लगाए । वडा नं. ८ की इन्द्रा विसीले सडकलाई आफ्नो दर्तावाल जग्गा दिएको तर अरुले नदिँदा आफूलाई पनि गाह्रो भएको बताइन् । उनले भनिन्, आफूले बाटो दिएर सडक बन्यो तर अरुले नदिदाँ समस्या भयो । पुल बनेपछि बाटो राम्रो होला भन्ने आशापनि अहिले निराश भएको उनको दुःखेसो छ ।
यता सिम्ता गाँउपालिकाका अध्यक्ष कवीन्द्र केसीले भने सडक पूरा गराउनका लागि सम्बन्धित पक्षहरुसंग छलफल गर्ने प्रयास थालिएको दावी गरे । उनले जग्गाधनीहरुसंग बसेर समाधानको उपाय निकाल्ने बताए । उक्त सडक वडा नं. ५ भन्दा वडा नं.८ का लागि महत्वपूर्ण भएकोले त्यसको समाधान जतिसक्यो छिटो खोजिने उनले बताए । सडकको काम पूरा नहुँदा करोडौंको लागतमा पुल निर्माण भएको पनि अर्थ नभएको उनको भनाइ छ ।
प्रकाशित मिति: १३ श्रावण २०७५, आईतवार १७:१०