काठमाडौँ, १२ असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर अभियान शुरु गरेकाले त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न इन्जिनियरहरुलाई आग्रह गरे ।
राष्ट्र निर्माणको महाअभियान शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा र मुलुकको चाहनालाई पूरा गर्न प्राविधिक जनशक्तिको अझ बढी योगदानको खाँचो रहेको उल्लेख गरे ।
राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको भन्दै प्रधानमन्त्रीले गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउने बताए ।
उनले गलत उद्देश्यबाट निर्देशित भएर पैसा देशमा भित्रन नदिइनेसमेत स्पष्ट पारे । ‘गलत उद्देश्यका साथ गलत बाटोबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने ‘नेपाल भित्रिने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’
प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताए । देश अहिले विकासको महाअभियानमा भएकाले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एशोसिएशन नेपाललाई बधाईसमेत दिए । एकताबद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजबुत ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । आधुनिक प्रविधिको प्रयोग गरेर एकाध वर्षभित्रै मुलुकलाई समृद्धिको मार्गमा डोहो¥याउने गरी सरकार दत्तचित्त भएर लागिपरेको उनको भनाइ थियो ।
राजनीतिक विषय सकिएपछि गलत माग राख्न थालियो – अध्यक्ष दाहाल
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताएका ५न् ।
तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो भन्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन् । गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन ।”
राजनीतिक विषय सकिएपछि अनावश्यक बखेडा झिकिएको र गलत संस्कारको विकास गरिएको भन्दै उहाँले काम शुरु नहुँदै परिणाम खोज्ने प्रवृत्तिसमेत घातक रहेको स्पष्ट पारे । निर्वाचनबाट पराजित भएपछि नेपाली काँग्रेसले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको स्पष्ट पारे ।
“शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उहाँहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ । कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ” अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताए । उनले विज्ञानमा आधारित विकास र समृद्धिमा नेकपाले जोड दिने स्पष्ट पारे ।
उनले भने, “वैज्ञानिक विचारको बलमा जनताको मन जितेर दुईतिहाईको सरकार बनाएका छौँ र हामी समाजवादका यात्रामा जानेछौँ ।”
उहाँले विश्वमा स्थापित भएको लोकतान्त्रिक विधिका आधारमा र अन्तर्राष्ट्रिय मान्यताभन्दा पनि नेपाली स्वरुपको समाजवादको यात्रामा नेकपाको सरकार जाने बताए । विकास, निर्माण र समृद्धिका लागि इन्जिनियरहरुले प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष दाहालले सकारात्मक सुझाव दिएर सरकार र पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरे ।
उनले बिना विवाद दुई वटा संगठन एकीकरण गर्न सफल भएकामा बधाईसमेत दिए । दुई पार्टीबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक पेशागत संगठनको रुपमा रहेको इन्जिनियर संगठनको एकता भएको हो ।
तत्कालीन एमाले निकट ‘पोग्रेसिभ इन्जिनियर एसोसिएशन नेपाल’ र तत्कालीन माओवादी केन्द्र निकट ‘नेपाल इन्जिनियर संगठन’बीच एकता भई ‘प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल’ नामक संगठन बनेको छ ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र स्थायी समिति सदस्य पम्फा भुसालगायतको सहभागिता थियो । एकतापछि शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय सचिवालय र ९५ जनाको केन्द्रीय समिति गठन भएको छ । यस्तै महासचिवमा हरि पराजुली चयन भएका ५न् ।
प्रकाशित मिति: १२ श्रावण २०७५, शनिबार २२:३१