काठमाडौँ, ११ साउन । नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उनको अनशन तोडिएको छ ।
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा १५ औँ अनशनमा थिए । सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा डा केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जुस ख्वाएर अनशन तोडाएका थिए ।
सो अवसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस सहयोगी चेतन अधिकारीलगायत थिए । प्रा डा केसीलाई आज राति नै सघन उपचार कक्षमा लगिएको छ ।
प्रा डा केसीको अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उनका तर्फबाट नेकपाका नेता नेम्वाङ, प्रा डा माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटा, मन्त्रिपरिषद्का चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत सक्रिय थिए ।
बिहीबार राति त्रिवि शिक्षण अस्पतालमा भएको नौबूँदे सहमतिपत्रमा सरकारी वार्ताटोलीका तर्फबाट शिक्षा, विज्ञान ताथ प्रविधि मन्त्रालयका सचिव खगराज बराल र प्रा डा केसीका तर्फबाट उनी स्वयंले हस्ताक्षर गरे ।
सरकारी वार्ता टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने तथा प्रा डा केसीका तर्फबाट डा अभिशेष सिंह, डा जीवन क्षेत्री, अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए ।
प्रधानमन्त्री ओलीले प्रा डा केसीको अनशन अन्त्यका लागि तीन दिनदेखि विशेष पहल गरी छलफललाई तीव्रता दिएका थिए । प्रा डा केसीले उठाएको पछिल्ला मागलाई सरकारले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा समावेश गराउने प्रतिबद्धता जनाएपछि प्रा डा केसीले अनशन अन्त्य गरेका हुन् ।
शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सो सहमतिका लागि प्रधानमन्त्री र सरकारले गम्भीरतापूर्वक भूमिका निर्वाह गरेको र प्रधानमन्त्रीको निर्देशनमा आफूहरु क्रियाशील भएको बताए ।
उनले भने, “आज हामीले चिकित्सा शिक्षा र स्वास्थ्य विषयका कुरा टुङ्ग्याउन सफल भएका छौँ, समझदारी गरेका छौँ । प्रा डा केसीले शिक्षा र स्वास्थ्यका लागि गरेका प्रयासमा हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ । सहमतिलाई संसद्को प्रक्रियामा लाने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । सो प्रतिबद्धता संसदीय प्रक्रियामार्फत टुङ्गोमा पुग्नेछ । प्रा डा केसीले फेरि फेरि अनशन बस्नु नपरोस् । तपाईँ हामी विरोधी होइनौँ । ”
नेता नेम्वाङले प्रधानमन्त्री ओली र सरकार चिकित्सा शिक्षा र स्वास्थ्यका विकृति र विसंगति अन्त्य गर्न लागिरहेको चर्चा गर्दै सरकारको अभियान र डा केसीको अभियान साथ साथमा छ भने । सो सहमतिलाई जनताको प्रतिनिधिमूलक संस्था संसद्मा छलफलमा लगी टुङ्गोमा लगिने उनले स्पष्ट गरे ।
सो अवसरमा कार्यदलका संयोजक प्रा डा माथेमाले चिकित्सा शिक्षाको गुणस्तर र त्यसमा सबैको पहुँच पुर्याउन सो सहमतिले मूर्त रुप दिने विश्वास व्यक्त गरे । “यो कसैको जीतहारभन्दा पनि चिकित्सा शिक्षाको विजय हो”, उनले भने । उनले माथेमा कार्यदलको प्रतिवेदनअनुसारको विधेयक संसद्मा आउने पनि स्पष्ट गरे ।
प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ०८:५९