सुर्खेत, १० साउन । सुर्खेतको पुर्वी क्षेत्र सिम्ता गाउँपालिका वडा नं. ५ आलीकी स्थानिय गौरी खत्री मध्यान्ह १२ बजे टाउँकोमा नाम्लो र ढाडमा डोको बोकेर उकालो लाग्दै थिइन् । खानेपानी मुहान सम्म पानी ल्याउनका लागि दैनिक एकघण्टाको उकालो हिड्नु पर्ने उनको बाध्यतानै हो । निधारमा पसीना चुहाउँदै गौरीले भनिन ‘क्यार्नु पानी त खानै प¥यो नी, गाउँमा लाइन आयो भन्छन् अब छिटै पानी पनि आउँछ भन्ने आश लागेको छ ।’
सिम्ता गाउँ पालिका–५ आलीका टेकेन्द्र पुनमगरले आली गाउँमा पानीको निकै समस्या भएको बताए । उनले भने ‘एक घण्टाको दुरीमा रहेको पानी बोक्दाबोक्दै काँधका छाला गइसक्याे, तर पनि पानीको सुविधा भएको छैन ।’
जाम्नेबजारका अर्का स्थानिय बासीन्दा बिशाल पुरीले खानेपानीको निकै अभाव हुने गरेकोे दुखेसो गरे । उनले जाम्नेबजारमा कहिलेकसो धारामा पानी आएपनि धेरैजसो नदिको धमिलो पानी खानुपर्ने बाध्यता रहेको बताए । सिम्ता गाउँपालिकाका स्थानिय बासिन्दाहरुलाई घण्टाैं हिडेर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता भएको छ ।
गाउँ गाउँमा सिहंदरवार, घरघरमा विकास भन्ने नारा जतिनै घन्किएपनि सिम्ता गाउँपालिकामा भने खानेपानीकालागि स्थानियबासिहरुको टाउँकाको नाम्लो र ढाडको डोको बोक्न छुटेको छैन । गाउँमा खानेपानीको समस्या भएपछि त्यहाँका स्थानिय झण्डै एक घण्टा उकालो हिडेर खोलाको धमिलो पानी खाने गरेका छन् । खानेपानीको समस्या झेल्दै आएका सिम्ताका बासिन्दाले भेरी नदिको धमिलो पानी खानेभन्दा अर्को विकल्प केहि छैन ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले सिम्ता गाउँपालिकामा खानेपानीका लागि दश वर्षे गुरुयोजना सहित पाँच वर्षमा के के गर्न सकिन्छ भनि योजनाबद्ध तरिकाले अघि बढिरहेको बताए । उनले सिम्ता गाउँपालिकाका वडा नं. ५ र ६ मा नयाँ योजनाहरु स्थापना गर्न सकिने र अन्य वडाहरुमा खानेपानीको योजना निर्माण मर्मत सम्भार गरे स्थानिय बासिन्दाका लागि खानेपानी प्रयाप्त मात्रामा पुग्ने बताए ।
प्रकाशित मिति: १० श्रावण २०७५, बिहीबार १६:११