सुर्खेत, ८ साउन । आर्थिक वर्ष २०७४-०७५ मा विभिन्न विषयगत २३ वटा कार्यालयका सातसय ५१ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तथ्याङ्क सार्वजनिक गरेको छ । ती उजुरीमध्ये ५ सय ७१ उजुरी फछ्र्यौट भएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशमा शिक्षामा सबै भन्दा बढी भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारसम्बन्धि दुईसय २७ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिएका छन् । उनका अनुसार संघिय मामिला तथा स्थानिय विकासका दुईसय १९, वन तथा भु संरक्षण ८२, स्वास्थ्य ३६, उर्जा २६, खानेपानी सरसफाई २४, सिंचाई २२, गृहका १६, भौतिक पुर्वाधार तथा यातायात १५, सहरी विकास १४ उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा उद्योग, शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण, भुमि सुधार तथा व्यवस्थाका उजुरी परेका छन् । जसमा सबैभन्दा बढी सुर्खेतको उजुरी परेको छ । सुर्खेत एकसय ६४, दैलेख एकसय ४७, जाजरकोट ९७, कालीकोट ९५, हुम्ला ५८, सल्यान ४९, रुकुम पश्चिम ४४, जुम्ला ३८, मुगु ३२, डोल्पा २२ र पुर्वी रुकुममा ५ उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले भ्रष्टाचार सम्बन्धी उजुरीमध्ये ५ सय ७१ उजुरी फछ्र्यौट भएको जनाए । तीमध्ये ३ सय ३९ मुद्दा तामेली गरिएको छ भने १ सय १ उजुरी एकीकरणका आधारमा फछ्र्यौट गरिएका छन् । विस्तृत अनुसन्धानबाट ३९ उजुरी फछ्र्यौट गरिएका छन् भने ३१ उजुरी लेखी पठाइएको र ७ वटा उजुरी अन्य निकायमा पठाइएको आयोगका प्रमुख पन्थले बताए । उनले आर्थिक वर्षभरि आएका उजुरीमध्ये १ सय ८० उजुरी फछ्र्यौट हुन बाँकी रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले आयोगमा पर्ने उजुरीमाथि छानविन गर्न कार्यालयले स्थलगत अध्ययनमा जोड दिने बताए ।
प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलवार १८:२४