काठमाडौँ, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गरेका हुन् ।
उनले भने, “नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।”
उनले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गरे ।
उनले अस्पताल प्रशासन स्वयम्ले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेटको उपयोग हुन नसकेको टिप्पणी गरे ।
धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पु¥याउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड थियो ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दीपकप्रकाश महराले तीन वर्षदेखिको प्रयासपछि कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अन्तिम तयारीमा पुगेको बताए ।
उनले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा कलेजो प्रत्यारोपणका लागि बजेट विनियोजित भएपछि भौतिक पूर्वाधार तयारीको अन्तिमचरणमा रहेको र आफ्नै जनशक्तिबाट नियमित प्रत्यारोपण सेवा उपलब्ध गराउने गरी कार्य थालनी गरिएको जानकारी दिए ।
भौतिक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु ११ करोड विनियोजित गरेको थियो । आज उद्घाटन गरिएको अत्याधुनिक सघन उपचार कक्षसहित कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणलगातका लागि रु आठ करोड खर्च भएको अस्पतालले जनाएको छ ।
कलेजो प्रत्यारोपण टिमका संयोजक कजेलो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले सेवा शुरु गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिए । उनले भने,“सबै प्रक्रिया सकिएपनि सरकारले सञ्चालन गर्न लाइसेन्स दिनुपर्छ, त्यसका लागि मन्त्रालयमा एक डेढवर्षदेखि प्रत्यारोपण समिति छैन, मन्त्रालयमा भनिरहेका छाैँ, स्वास्थ्यमन्त्रीले बनाएको भनेका छन् ।”
नेपालबाट हरेक वर्ष करीब चार सयबढी बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सक बताउछन् । वर्षेनी नेपालबाट भारतमा कलेजो प्रत्यारोपणका लागि रु ६० लाखसम्म बाहिरिने गरेको छ ।
प्रकाशित मिति: ३२ असार २०७५, सोमबार १६:२६