सुर्खेत, २२ असार । मध्यपश्चिम विश्वविद्यालयमा आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेतको स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना भएका छन् । तीन दिन देखि आमरण अनसन बसेका विद्यार्थी बस्नेतको स्वास्थ्य अवस्था नाजुक बनेपछि शुक्रबार विहान अस्पताल भर्ना गरिएको हो ।
इन्जिनियरिङ संकायलाई स्वायत्त बनाउनुपर्नेेलगाएतका सात बुँदे मागलाई विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै तिन दिन देखि रोशन बस्नेत सहित मिलन वि.सी. र रतन शर्मा आमरण अनसन बस्दै आएका हुन् ।
विद्यार्थीले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयका उपकुलपति सहितको टोलीसँग वार्ता गर्नु पर्ने माग राखेपनि हालसम्म वार्ता र सम्वाद हुन नसकेको र अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर भएको विद्यार्थी न्यूटन वलीले बताए । उनले उपकुलपति र रजिष्ट्रार विद्यार्थीको माग प्रति गम्भिर नभएको आरोप लगाए ।
माग सम्बोधन गर्नका लागि उपकुलपति नै वार्तामा बस्नु पर्ने भएपनि विद्यार्थी आमरण अनसनमा बसेको तीन दिनसम्म वार्ताका लागि सम्पर्कमा समेत नआउनु उपकुलपतिको नियत प्रति शंका गर्नु पर्ने अवस्था आएको विद्यार्थी राजन केसीले बताए ।
जीवनरक्षाका लागि मानव अधिकार संगठनको आग्रह

यसैबीच अनसनरत विद्यार्थीको अवस्था बारे अनुगमन गर्न पुगेको मानव अधिकार संगठन सुर्खेतको टोलीले विद्यार्थीको जीवनरक्षाका लागि सरोकार वाला निकाय गम्भिर हुनु पर्ने जनाएको छ । संगठनका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा आमरण अनसन स्थल पुगी वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न समेत आग्रह गरेको छ ।
जीवनरक्षाको माग गर्दै संघर्ष समितिद्वारा अल्टिमेटम
इन्जिनियरङ संकाय संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना मागप्रति विश्वविद्यालय अनुदार रहेको भन्दै रिले अनसन थालेका विद्यार्थीहरुले आफ्ना मागहरू क्याम्पस प्रशासनलाई राख्दा पनि बेवास्ता गरी वार्ता नै नगरेको आरोप लगाएका छन् । आमरण अनसन बसेको तिन दिन वितिसक्दा पनि विश्वविद्यालयले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
अनसन बसेका तिनजना विद्यार्थीहरुको अवस्था नाजुक बन्दै गएको र उनिहरुको जीवनरक्षाको माग गर्दै शुक्रबार २ बजे सम्म विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा वार्ता र सम्वाद सफल नभएमा २ बजेपछिको आन्दोलनबाट आउने सम्पूर्ण परिस्थितिको जिम्मा विश्वविद्यालय प्रशासनले लिनुपर्ने संघर्ष समितिद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार १२:४५