सुर्खेत, २१ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्नेलगायतका सात बुँदे माग राख्दै आमरण अनसन सुरु गरेका छन् ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण स्ल्याबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, लाइबेरीमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने माग राख्दै असार पाँच गतेदेखि आन्दोलनरत विद्यार्थीले बुधबारदेखि आमरण अनशन थालेका हुन् ।
आफ्ना मागप्रति विश्वविद्यालय अनुदार रहेको भन्दै रिले अनशन थालेका विद्यार्थीले वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रिय महाविद्यालयको परिसरमा आमरण अनसन सुरु गरेका हुन् । आफ्ना मागहरू क्याम्पस प्रशासनलाई राख्दा पनि बेवास्ता गरी वार्ता नै नगरेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरु रतन शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा बसेका छन् । १५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले बेवास्ता गरेको भन्दै अनशन बसेको संघर्ष समितिका सदस्यसमेत रहेका रोशन बस्नेतले बताए । उनले आफ्ना मागहरु पुरा नभएसम्म अनशनलाई जारी राख्ने बताएका छन् ।
विद्यार्थीहरुले विहीबारदेखी विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गर्नुका साथै केन्द्रीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालिनका लागी ताला बन्दी गरेका छन् ।
प्रकाशित मिति: २१ असार २०७५, बिहीबार १२:२५