काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गंगामायाको मुद्दालाई सरकारले बेवास्ता गर्नु दुःखद् भएको बताए ।
आज वीर अस्पतालमा पुगी आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेता पौडेलले “गंगामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, छोराको हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै निरन्तर अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो,” भने । उनले गंगामायाको माग सरकारले नसुने जनस्तरमा लैजानुपर्ने बताए ।
गत जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था थप बिग्रिएको जानकारी दिए । “अवस्था पहिलेभन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भने, “शरीर सुनिंदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको छ ।”
विसं २०६१ जेठ २४ जेठ उनका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएकी छन् ।
छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेका थिए । गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।
न्याय नपाउँदासम्म श्रीमान्को अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको अझै मृत शरीर शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।
शान्ति समाजद्वारा चिन्ता व्यक्त
एक महिनादेखि आमरण अनशनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।
समाजका सभापति डा.गंगाधर अधिकारीको नेतृत्वमा महासचिव उत्तम पुडासैनी, काठमाडौँ जिल्ला सभापति रामकृष्ण बराल, विभागीय संयोजक बाबुराम न्यौपाने तथा समाजका सदस्य सूर्य केसी सम्मिलित प्रतिनिधि मण्डल आज अपराह्न उनको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको थियो ।
अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले उनीसँगको भेटघाटमा बन्देज लगाइएको जानकारी दिई फिर्ता गरिएको महासचिव पुडासैनीले जानकारी दिए । १३ वर्षअघि उनको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एक महिनादेखि उनीआमरण अनशनमा छिन् । सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति समाजले सरकारको ध्यानाकर्षण गराएको छ ।
“अदालतको आदेशको पालनामा सरकारले देखाएको उदासिनता निन्दनीय छ, सत्याग्रहीप्रति सरकारी उपेक्षा दुर्भाग्यपूर्ण छ, सदैव लोकतान्त्रिक मूल्य, कानूनी शासन र व्यक्तिका स्वतन्त्रताप्रति प्रतिबद्ध हुन सरकारलाई अनुरोध गर्छौँ”–उनले भनिन् ।
प्रकाशित मिति: १९ असार २०७५, मंगलवार १८:४०