बनेपा, १९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुप्रसाद बाँस्कोटाले महाभारत क्षेत्रलाई पर्यटकीय गन्तव्यका केन्द्र बनाउनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा साेमबार जिल्ला समन्वय समिति, दोस्रो जिल्ला सभाको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमले विटक महाभारत क्षेत्रको संरक्षण र सम्वद्र्धन गरी यसलाई पर्यटकीय गन्तव्यको केन्द्रका रुपमा विकास गर्न पर्ने बताए ।
मन्त्री बाँस्कोटाले चुरेको विनाशले तराई मरुभूमीकरणतर्फ उन्मुख भइरहेकामा चिन्ता व्यक्त गर्दै महाभारत क्षेत्रमा रहेका जैविक विविधता, त्यसको भूबनोट र प्राकृतिक संरचनामाथि खलबल पुर्याउँदा यसले मानव समुदाय, वस्ती वा क्षेत्रहरूमा पार्ने नकारात्मक प्रभावप्रति सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
“अध्ययन र विश्लेषण नै नगरी ल्याएको योजना केहि समयपछि बिग्रने गरेको पाइएकाले सरकारले अब त्यो खालको अवस्थालाई परिवर्तन गर्न खोजेको छ,” उनले भने, “राजनीति धेरै गर्यो, विकास तिर्खा अझैसम्म रह्यो, अब विकास नै सबैको चाहना भएकाले त्यसतर्फ ध्यान दिन आश्यक छ ।”
मन्त्री बाँस्कोटाले स्थानीय तहका सम्पूर्ण सूचना जानकारीका लागि मन्त्रालयले नागरिकसँग जोडिने टेमप्लेटको विकास गरिसकेको जानकारी दिदैं यो सेवा स्थानीय तहलाई पनि उपलब्ध गराउने बताए ।
समृद्ध मुलुक निर्माणका लागि यहाँ भएको स्रोत र साधनलाई सदुपयोग गरेर सरकार अघि बढ्ने पनि उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसीले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्ततु गर्दै संघीय सरकारबाट जिल्ला समन्वय समितिलाई प्रदान गरिएको अधिकार संकुचित भएको गुणासो व्यक्त गरे ।
उनले भने आगामी दिनमा जिल्ला समन्वय समितिलाई थप जिम्मेवारी प्रदान गर्न र निर्वाचित प्रतिनिधिको भूमिकाविहीन अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: १९ असार २०७५, मंगलवार ०७:१६